पोखरा । कास्की प्रहरीले जिल्लामा पछिल्लो समय बढ्दो लागूऔषध कारोबार, सेवन र समाजमा अशान्ति फैलाउने गतिविधि नियन्त्रण गर्न १० घण्टा लामो विशेष स्वीप अपरेसन चलाएर १२२ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की र मातहतका प्रहरी कार्यालयहरुले आइतबार राति ९ बजेदेखि सोमबार बिहान ६ बजेसम्म सञ्चालन गरेको उक्त अपरेसनमा विभिन्न स्थानबाट उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।
समाजमा अशान्ति फैलाउने, टोल गुण्डाका रुपमा धम्की दिने, गुण्डागर्दी गर्ने, लागूऔषध बिक्री वितरण तथा सेवन गर्ने, मादक पदार्थ सेवन गरी होहल्ला गर्ने र रातिको समयमा शंकास्पद रुपमा हिँडडुल गर्नेहरुलाई नियन्त्रणमा लिई कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ । यस अभियानका लागि जिल्ला प्रहरी कार्यालय कास्की र मातहतका कार्यालयबाट १०० जना प्रहरी परिचालन गरिएको थियो ।प्रहरीले पोखरा महानगरपालिकाका विभिन्न वडा र आसपासका गाउँपालिकाबाट उनीहरुलाई पक्रेको हो । पोखरा महानगरका वडा नम्बर १, २, ३, ४ र ५ अन्तर्गत पर्ने कसरी, बागलुङ बसपार्क, भैरवटोल, महेन्द्रपुल, लब्लिडाँडा र प्रस्याङ क्षेत्रबाट ९ जना पक्राउ परेका छन् । यस्तै, वडा नम्बर ६ को लेकसाइड, ड्यामसाइड र गैराको चौताराबाट सबैभन्दा धेरै ३५ जनालाई नियन्त्रणमा लिइएको छ ।
वडा नम्बर ८ का बगाले टोल, सभागृह चोक र शिवालय चोकबाट ६ जना पक्राउ परेका छन् । वडा नम्बर ९ र १० का पृथ्वीचोक, रंगशाला, बुद्धचोक र अस्पतालचोक क्षेत्रबाट २० जना समातिएका छन् । वडा नम्बर ११, १२ र १३ का तुलसीघाट, शीतलादेवी, काँहुडाँडा र काँहुखोला क्षेत्रबाट ८ जना पक्राउ परेका छन् भने वडा नम्बर १४ र १५ का विमानस्थल, फुलबारी, खसीबजार र रामबजार क्षेत्रबाट १५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।यसैगरी, पोखराका अन्य क्षेत्रहरु बाटुलेचौर र लामाचौरबाट २ जना, चिसापानी र मेथलाङबाट २ जना पक्राउ परेका छन् । पोखरा २७ र २८ का दिपाङताल र रिठेपानी क्षेत्रबाट ६ जना, वडा नम्बर २९ र ३० का भण्डारढिक, सैनिक बस्ती, पटनेरी र तावामुख क्षेत्रबाट १२ जना तथा वडा नम्बर ३२ का राजाचौतारा र लामेआहाल डम्पिङ साइडबाट ३ जना पक्राउ परेका छन् । पोखरा बाहिर माछापुच्छ्रे गाउँपालिका क्षेत्रबाट ३ जना र अन्नपूर्ण गाउँपालिका १ नौडाँडाबाट १ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी तथा प्रहरी निरीक्षक गणेश पाण्डेले कास्की प्रहरीको यो ‘स्वीप अपरेसन निरन्तर चलिरहने जानकारी दिए । पाण्डेले भने, समाजमा अशान्ति फैलाउने, टोल गुण्डा, लागूऔषध सेवनकर्ता, मादक पदार्थ सेवन गरी होहल्ला गर्ने र सवारी साधनको स्वरुप परिवर्तन गरी ध्वनि प्रदूषण गर्ने जस्ता उच्छृङ्खल गतिविधि गर्ने जोसुकैलाई पनि निरन्तर पक्राउ गरी कारबाही गरिनेछ ।
प्रहरीले पक्राउ परेका व्यक्तिहरुमाथि आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाएको जनाएको छ । समाजलाई मर्यादित र सुरक्षित बनाउन प्रहरीले यस किसिमको सक्रियता देखाएको हो ।






