असार १
नेपाल आदर्श आवासीय विद्यालयको आयोजनामा तथा नीति एकेडेमीको सहकार्यमा १५ दिने निःशुल्क एआई क्र्यास कोर्स तालिम आजदेखि सुरु भएको छ। असार १ गतेदेखि १५ गतेसम्म सञ्चालन हुने उक्त तालिम विशेषगरी एसईई २०८२ उत्तीर्ण विद्यार्थीहरूलाई लक्षित गरिएको विद्यालयले जनाएको छ।
प्रविधिमैत्री सीप विकास र एआई सम्बन्धी ज्ञान प्रदान गर्ने उद्देश्यले सञ्चालन गरिएको तालिमको पहिलो दिन नै विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो। तालिममा एआईका आधारभूत अवधारणा, विभिन्न एआई टुलहरूको प्रयोग, डिजिटल उत्पादकत्व तथा व्यवहारिक सिकाइका विषय समेटिनेछन्।
तालिम उद्घाटन कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य श्याम श्रेष्ठले वर्तमान युग प्रविधिद्वारा निर्देशित भएकाले विद्यार्थीहरूलाई समयअनुकूल ज्ञान र सीप प्रदान गर्नु आवश्यक रहेको बताउनुभयो। उहाँले यस्ता तालिमले विद्यार्थीहरूलाई नवीनतम प्रविधिसँग परिचित गराउनुका साथै भविष्यका शैक्षिक तथा व्यावसायिक अवसरका लागि सक्षम बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।
त्यसैगरी, नीति एकेडेमीका प्रबन्ध निर्देशक माधव पोखरेलले एआई भविष्यको आवश्यकता मात्र नभई वर्तमानको अपरिहार्य सीप बनिसकेको उल्लेख गर्दै यस्ता तालिमले विद्यार्थीहरूलाई प्रविधिमैत्री सोच विकास गर्न तथा नयाँ अवसरहरू पहिचान गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।
कार्यक्रममा प्रशिक्षणकर्ता साहिल गुरुङ र मिजास सुनारको प्रशिक्षणमा तालिम सञ्चालन भइरहेको छ।
विद्यालय र नीति एकेडेमीको सहकार्यमा सञ्चालन भइरहेको उक्त तालिममा सहभागी विद्यार्थीहरूले १५ दिनसम्म एआई सम्बन्धी विविध पक्षबारे व्यवहारिक तथा प्रयोगात्मक ज्ञान हासिल गर्नेछन्। आयोजकका अनुसार तालिम पूर्ण रूपमा निःशुल्क रहेको छ भने सफल सहभागीहरूलाई प्रमाणपत्रसमेत प्रदान गरिनेछ।






