जेनजी आन्दोलनका अगुवा रवि किरण हमालले जेनजी आन्दोलनसम्बन्धी राष्ट्रिय मानव अधिकार आयोगले तयार पारेको अनुसन्धान प्रतिवेदनको पूर्ण पाठ सार्वजनिक गर्न माग गर्दै आयोगमा औपचारिक निवेदन दर्ता गरेका छन्।
उनले आन्दोलनका क्रममा भएको हिंसा, नागरिकको ज्यान गएको घटना, सार्वजनिक तथा निजी सम्पत्तिमा पुगेको क्षति र ती घटनाको वास्तविक कारणबारे नागरिकले सत्य जानकारी पाउनुपर्ने संवैधानिक अधिकार रहेको उल्लेख गरेका छन्।
हमालका अनुसार प्रारम्भमा शान्तिपूर्ण रूपमा अघि बढेको आन्दोलन कसरी हिंसात्मक मोडमा पुग्यो भन्ने विषय अझै स्पष्ट हुन सकेको छैन। घटनाको कारण आन्दोलनकारीहरूको आक्रोश मात्र थियो वा देशमा अस्थिरता सिर्जना गर्ने उद्देश्यसहित कुनै संगठित समूह सक्रिय थियो भन्ने विषय निष्पक्ष अनुसन्धानमार्फत सार्वजनिक हुनुपर्ने उनको भनाइ छ।
निवेदनमा सुरक्षा निकायहरूको भूमिकामाथि पनि प्रश्न उठाइएको छ। कुनै पक्षले सुरक्षा संयन्त्रलाई प्रभावमा पारेको वा निष्क्रिय बनाएको थियो कि भन्ने विषयमा आयोगको अनुसन्धानले स्पष्ट निष्कर्ष दिनुपर्ने माग गरिएको छ।
हमालले अनुसन्धानका क्रममा आयोगले आफूसँग समेत जानकारी र धारणा लिएको उल्लेख गर्दै अनुसन्धान सम्पन्न भइसकेपछि प्रतिवेदन गोप्य राख्नु पारदर्शिता, जवाफदेहिता तथा नागरिकको सूचनाको हकको मर्मविपरीत हुने तर्क गरेका छन्।
उनले नेपालको संविधान, सूचनाको हक सम्बन्धी ऐन, २०६४ तथा आयोगको संवैधानिक दायित्वअनुसार अनुसन्धान प्रतिवेदनको पूर्ण पाठ, निष्कर्ष, सिफारिस र कार्यान्वयनको अवस्थासमेत सार्वजनिक गर्न आयोगसँग आग्रह गरेका छन्।
हमालले घटनामा ज्यान गुमाएका नागरिकप्रति न्याय सुनिश्चित गर्न, पीडित परिवारप्रति राज्यको जिम्मेवारी पूरा गर्न तथा सम्पूर्ण नागरिकलाई सत्यतथ्य जानकारी गराउन प्रतिवेदन सार्वजनिक गर्नु आवश्यक रहेको बताएका छन्।





