पोखरा।
मानव बेचबिखन तथा ओसारपसारजस्ता जघन्य अपराधविरुद्ध सम्पूर्ण समाज एकजुट भएर लाग्नुपर्नेमा यहाँ आयोजित कार्यक्रममा सहभागीहरूले सामूहिक प्रतिबद्धता व्यक्त गरेका छन्।
सामुदायिक प्रहरी सेवा समन्वय समिति, कास्कीको आयोजना तथा रातोपैह्रा सामुदायिक वन उपभोक्ता समूह, पोखरा १७ को व्यवस्थापनमा सम्पन्न मानव बेचबिखनविरुद्धको सचेतना कार्यक्रममा वक्ताहरूले अपराध नियन्त्रणका लागि सबै पक्षको सक्रिय सहभागिता आवश्यक रहेको बताएका हुन्।
कार्यक्रमको उद्घाटन गर्दै कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङ ले प्रहरी जनताको भरोसाको संस्था भएको उल्लेख गर्दै सीमित स्रोतसाधन र जनशक्तिका बाबजुद पनि नेपाल प्रहरीले नागरिकको सुरक्षा र शान्ति सुव्यवस्था कायम गर्न निरन्तर काम गरिरहेको बताए। उनले अपराध नियन्त्रण तथा सुरक्षित समाज निर्माणका लागि जनता र प्रहरीबीचको सहकार्य अपरिहार्य रहेको धारणा व्यक्त गरे।
पोखरा महानगरपालिका वडा नं. १७ का वडा अध्यक्ष राधिका शाही योगी ले समाजमा हुने आपराधिक गतिविधि नियन्त्रणका लागि प्रत्येक नागरिक सचेत हुनुपर्नेमा जोड दिइन्। घर भाडामा बस्ने व्यक्तिको विवरण राख्ने, छिमेकीप्रति चासो दिने तथा सभ्य समाज निर्माणमा सबैले योगदान पुर्याउनुपर्ने उनको भनाइ थियो।
रातोपैह्रा सामुदायिक वन समूहका सल्लाहकार एवं अग्रज पत्रकार हरि बास्तोला ले पछिल्लो समय यस क्षेत्रमा मानव बेचबिखन, लागूऔषध ओसारपसार तथा सेवन र चोरीका घटनामा वृद्धि भएको उल्लेख गर्दै प्रहरीको सक्रियता अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याए।
कार्यक्रममा प्रहरी नायव उपरीक्षक वीरेन्द्रकुमार पासवान ले सहभागीहरूलाई प्रशिक्षण प्रदान गर्दै आपराधिक गतिविधि न्यूनीकरणका लागि समाज र प्रहरीबीचको सहकार्य अपरिहार्य रहेको बताए।
सामुदायिक प्रहरी सेवा समन्वय समिति, कास्कीका अध्यक्ष भीम तिमिल्सिना को अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थापक अध्यक्ष मङ्गल नेपाली, समितिका उपाध्यक्ष विष्णु सुवेदी, महासचिव घनश्याम तिमिल्सिना, शुभकामना आमा समूहकी अध्यक्ष पार्वती खड्का लगायतले सभ्य, सुरक्षित र अपराधमुक्त समाज निर्माणका लागि सबै पक्षको निरन्तर प्रयास आवश्यक रहेकोमा जोड दिएका थिए।





