काठमाडौं । स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न चाहने नयाँ सदस्यका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निश्चित समयसम्म पार्टी सदस्यता कायम गरेको हुनुपर्ने प्रावधान ल्याएको छ । पार्टीले सार्वजनिक गरेको स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट रूपरेखा, २०८३ मार्फत नयाँ सदस्य तथा अन्य दलबाट पार्टी प्रवेश गर्ने व्यक्तिका लागि न्यूनतम सदस्यता अवधि अर्थात् कुलिङ पिरियड तोकेको हो ।
रूपरेखाअनुसार पहिलो राजनीतिक दलका रूपमा रास्वपामा आबद्ध हुने व्यक्तिले कम्तीमा ४५ दिन पार्टी सदस्यता लिएको हुनुपर्नेछ । अन्य राजनीतिक दल छाडेर रास्वपामा प्रवेश गरेकाको हकमा भने कम्तीमा ९० दिन सदस्यता अवधि पूरा गर्नुपर्ने व्यवस्था छ । तोकिएको अवधि पूरा नगरेका व्यक्तिले स्थानीय तहको उम्मेदवार छनोट प्रक्रियामा भाग लिन पाउने छैनन् ।
तर समाजमा प्रतिष्ठित, विज्ञ, सार्वजनिक रूपमा स्वच्छ छवि बनाएका वा पार्टीका लागि आवश्यक विशेष क्षमता भएका व्यक्तिलाई विशेष अवस्थामा ल्याटरल इन्ट्री मार्फत उम्मेदवार छनोट प्रक्रियामा सहभागी गराउन सकिने व्यवस्था पनि गरिएको छ । यसका लागि वडास्तरमा पालिका र जिल्ला समिति, पालिका प्रमुख वा उपप्रमुखका लागि जिल्ला र प्रदेश समिति तथा उपमहानगर र महानगरका प्रमुख वा उपप्रमुखका लागि केन्द्रीय समितिको लिखित सहमति आवश्यक पर्ने रूपरेखामा उल्लेख छ ।
तर ल्याटरल इन्ट्री मार्फत अवसर पाउने व्यक्तिले पनि उम्मेदवार छनोटका निर्धारित प्रक्रिया पूरा गर्नुपर्नेछ । रूपरेखाअनुसार यस्तो विशेष व्यवस्था कुलिङ पिरियडमा मात्रै छुट दिनका लागि गरिएको हो । नेतृत्व एकेडेमीअन्तर्गतको प्रशिक्षण, परीक्षा तथा उम्मेदवार छनोटका सबै चरणमा उनीहरूको सहभागिता अनिवार्य गरिएको छ ।
रास्वपाले उम्मेदवार छनोट प्रक्रियालाई कानुनी योग्यतामा मात्रै सीमित नगरी नेतृत्व क्षमता, वैचारिक स्पष्टता, राजनीतिक योगदान, नैतिक आचरण र कार्यसम्पादनका आधारमा समेत मूल्यांकन गर्ने प्रणाली लागू गरेको छ । उम्मेदवार बन्न इच्छुक व्यक्ति पार्टीको विधान, नीति तथा मूल्यमान्यताप्रति प्रतिबद्ध हुनुपर्नेछ । साथै सम्पत्ति विवरण, प्रहरी चारित्रिक प्रमाणपत्रलगायत आवश्यक कागजात उपलब्ध गराउन सहमत हुनुपर्ने व्यवस्था गरिएको छ ।
-नेतृत्व एकेडेमीको प्रशिक्षण तथा परीक्षा अनिवार्य
-नेतृत्व एकेडेमीको नतिजालाई २५ प्रतिशत भार
-राजनीतिक पृष्ठभूमि र जनआधारलाई पनि २५ प्रतिशत भार
-शैक्षिक प्रमाणपत्रदेखि सम्पत्ति विवरणसम्म अनिवार्य प्रमाणीकरण
-घरेलु हिंसा, साइबर अपराध, सहकारी अपचलनलगायत गतिविधिमा संलग्न नरहेको स्वघोषणा अनिवार्य
-अन्य दलबाट प्रवेश गरेकाका लागि ९० दिन र नयाँ सदस्यका लागि ४५ दिनको कुलिङ पिरियड
-विशेष व्यक्तिलाई ‘ल्याटरल इन्ट्री मार्फत अवसर, तर छनोट प्रक्रिया र प्रशिक्षणबाट छुट नहुने
-एउटै निर्वाचन चक्रमा संघीय र स्थानीय उम्मेदवार छनोटमा दोहोरो सहभागिता निषेध
-पदअनुसार फरकफरक नेतृत्व तथा प्रशासनिक प्रशिक्षणको व्यवस्था
त्यस्तै, शैक्षिक प्रमाणपत्र सक्कली रहेको, वैवाहिक अवस्था कानुनी रूपमा स्पष्ट भएको तथा घरेलु हिंसा, यौनजन्य दुर्व्यवहार, साइबर बुलिङ, अनलाइन ठगी र अन्य डिजिटल अपराधमा संलग्न नरहेको स्वघोषणा पनि अनिवार्य गरिएको छ । सहकारी बचत अपचलन, तमसुक ब्याज, सट्टेबाजी, हुण्डीलगायत गैरकानुनी आर्थिक कारोबारमा संलग्न नरहेको विवरणसमेत खुलाउनुपर्ने व्यवस्था छ ।
रूपरेखाले उम्मेदवार छनोटमा नेतृत्व एकेडेमी, राजनीतिक निकटता, समावेशिता र प्रारम्भिक निर्वाचनलाई प्रमुख आधार बनाएको छ । नेतृत्व एकेडेमीको मूल्यांकनलाई २५ प्रतिशत भार दिइएको छ । प्रशिक्षणपछि सञ्चालन हुने परीक्षामा न्यूनतम मापदण्ड पूरा गरेपछि मात्र उम्मेदवार छनोटको अर्को चरणमा प्रवेश गर्न पाइनेछ । परीक्षामा प्राप्त अंकलाई अन्तिम मूल्यांकनमा समेत समावेश गरिने व्यवस्था गरिएको छ ।
यसैगरी, एउटै निर्वाचन चक्रमा संघीय र स्थानीय तहको उम्मेदवार छनोट प्रक्रियामा एउटै व्यक्तिले दोहोरो सहभागिता जनाउन नपाउने व्यवस्था गरिएको छ । स्थानीय तहमा उम्मेदवार बनेर पराजित भएको व्यक्तिले सोही निर्वाचन चक्रमा प्रदेश सभा उम्मेदवार छनोट प्रक्रियामा सहभागी हुन नपाउनेछ । त्यस्तै, वडास्तरको उम्मेदवार छनोट प्रक्रियामा सहभागी भएकाले पनि प्रदेश सभा उम्मेदवार छनोटमा भाग लिन नपाउने व्यवस्था रूपरेखामा राखिएको छ ।






