काठमाडौं । पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरोमा परेर ज्यान गुमाएका नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ) सहित चार जनाको शव सफलतापूर्वक आधारशिविरमा ल्याइएको छ। कठिन तथा जोखिमपूर्ण उद्धार अभियानपछि शवहरू सुरक्षित रूपमा आधारशिविर पुर्याइएको जानकारी निर्मल पुर्जाको संस्था इलाइट एक्सपेडले दिएको हो।
दिवंगत पर्वतारोही निर्मल पुर्जाका व्यापारिक साझेदार तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मिङ्मा डेभिड शेर्पाले सामाजिक सञ्जालमार्फत उद्धार कार्य सम्पन्न भएको पुष्टि गरेका छन्। उनका अनुसार निर्मलसँगै झोङ वाङ, निमा शेर्पा र किलु शेर्पाको शव पनि आधारशिविरमा सुरक्षित रूपमा ल्याइएको छ।
मिङ्माले सामाजिक सञ्जालमा लेखेका छन्, अत्यन्तै दुःखद मनका साथ हामी पुष्टि गर्दछौँ कि निकै चुनौतीपूर्ण उद्धार अभियानपछि हाम्रा संस्थापक निर्मल निम्स पुर्जा, झोङ वाङ, निमा शेर्पा र किलु शेर्पाको शव ब्रोड पिकबाट सफलतापूर्वक उद्धार गरी आधारशिविरमा ल्याइएको छ।
उनले घटनास्थलमा अझै तीन जना आरोही बेपत्ता रहेको जानकारी दिँदै मौसम तथा सुरक्षा अवस्था अनुकूल हुनासाथ उनीहरूको खोजी तथा उद्धार अभियान पुनः सञ्चालन गरिने बताएका छन्।
इलाइट एक्सपेडले जारी गरेको विज्ञप्तिअनुसार उद्धार अभियान अत्यन्तै कठिन र जोखिमपूर्ण परिस्थितिमा सम्पन्न भएको हो। संस्थाले हिमपहिरोपछि चुनौतीपूर्ण अवस्थामा सञ्चालन गरिएको उद्धार कार्य मिनिमा शेर्पाको नेतृत्वमा रहेको ग्राउन्ड रिकभरी टोलीले सफलतापूर्वक सम्पन्न गरेको जनाएको छ। साथै, सर्बाज खान र उद्धार अभियानमा संलग्न सम्पूर्ण टोली सदस्यहरूको साहस, व्यावसायिकता तथा निस्वार्थ समर्पणप्रति संस्थाले उच्च सम्मान व्यक्त गरेको छ।
विज्ञप्तिमा भनिएको छ, अत्यन्तै कठिन र खतरनाक परिस्थितिका बीच यो उद्धार अभियान सफल बनाउन मिनिमा शेर्पाको नेतृत्वमा रहेको ग्राउन्ड रिकभरी टोली, सर्बाज खान तथा जमिनमा खटिएका सम्पूर्ण सदस्यहरूको असाधारण साहस, व्यावसायिकता र निस्वार्थ समर्पण निर्णायक रह्यो। उनीहरूको अथक प्रयासबिनाको यो अभियान सम्भव हुने थिएन।
संस्थाले विज्ञप्तिमार्फत दिवंगत पर्वतारोही निर्मल पुर्जाको योगदानलाई विशेष सम्मानका साथ स्मरण गरेको छ। उनका अनुसार निर्मलको शव आधारशिविरसम्म ल्याउनु केवल उद्धार अभियानको सफलता नभई भावनात्मक जिम्मेवारी पनि थियो।
विज्ञप्तिमा भनिएको छ, ‘निम्सलाई घर फर्काउनु भनेको केवल एक पर्वतारोहीको शव फिर्ता ल्याउनु होइन; यो एक पति, पिता, छोरा, भाइ, साथी तथा एलिट एक्सपेड र निम्स दाइ फाउन्डेसनको आत्मालाई घर फर्काउनु थियो।
संस्थाले झोङ वाङ, निमा शेर्पा र किलु शेर्पाको शव पनि सुरक्षित रूपमा आधारशिविरसम्म ल्याउन सफल भएको उल्लेख गर्दै उनीहरूलाई परिवारसम्म पुर्याउन सकिएकोमा राहत महसुस गरेको जनाएको छ। साथै, अझै सम्पर्कविहीन रहेका तीन आरोहीका परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै मौसम र सुरक्षा अवस्था अनुकूल भएपछि खोजी अभियानलाई निरन्तरता दिइने पनि जनाएको छ।





