पोखरा । प्याब्सन कास्कीले आयोजना गरेको माध्यमिक तहस्तरीय नेपाली भाषा कौशल प्रतियोगितामा ग्लोबल कलिजियट स्कुल प्रथम भएको छ। शनिबार सम्पन्न प्रतिस्पर्धामा रेन्बो एकेडेमिक होम्स दोस्रो भएको छ । त्यस्तै, बालोदय माध्यमिक विद्यालयले तेस्रो र डायमन्ड माध्यमिक विद्यालयले चौथो स्थान हासिल गरेका छन् । बाल कल्याण हाई स्कुलले सान्त्वना स्थान प्राप्त गरेको छ ।
दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा कक्षा ९ र १० का विद्यार्थीहरूको सहभागिता रहेको थियो । प्रतियोगितामा प्याब्सन कास्कीमा आबद्ध ६९ विद्यालय सहभागी भएका थिए ।समापन समारोहमा विजयी विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो । कार्यक्रम प्याब्सन कास्कीका अध्यक्ष षडानन्द गौतमको अध्यक्षतामा सम्पन्न भएको थियो भने शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्य प्रमुख अतिथिका रूपमा उपस्थित थिए ।
संस्थाका वरिष्ठ उपाध्यक्ष विष्णुप्रसाद तिमिल्सिनाले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम संयोजक खिम गुरुङले प्रतियोगिताको उद्देश्य र महत्वबारे जानकारी गराएका थिए ।भाषा प्रतियोगिताको मूल्यांकनका लागि १० सदस्यीय निर्णायक टोली खटिएको थियो । टोलीको संयोजन नेपाली भाषा शिक्षक परिषद् कास्कीका अध्यक्ष सूर्यप्रसाद लम्सालले गरे । निर्णायकका रूपमा डोलराज अर्याल, विक्रम पौडेल र शिवहरि सुवेदी रहेका थिए । त्यसैगरी शशि शिशिर ढुंगाना, हरिप्रसाद शर्मा र भावना लामिछानेले पनि निर्णायकको भूमिका निभाए । टोलीमा अमृत पौडेल, झलक आचार्य र सावित्री भट्टराई पनि सहभागी थिए ।
कार्यक्रमको व्यवस्थापन तथा सञ्चालन प्याब्सनका पदाधिकारीहरूले गरेका थिए । उद्घाटन समारोह सहसचिव डिल्लीराम अर्यालले सञ्चालन गरेका थिए भने समापन समारोह सचिव सुरेन्द्रमान सिंह भण्डारीले सञ्चालन गरे । विद्यार्थीहरूको नेपाली भाषासम्बन्धी ज्ञान, सीप र अभिव्यक्ति क्षमता अभिवृद्धि गर्ने उद्देश्यले प्याब्सनले प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा सहभागी विद्यार्थीहरूले नेपाली भाषाका विभिन्न विधामा आफ्नो प्रतिभा र भाषिक कौशल प्रस्तुत गरेका थिए ।






