सोसल पब्लिक स्कुलले नयाँ शैक्षिक सत्रमा कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूलाई स्वागत गरेको छ। कक्षा १२ का विद्यार्थीहरूको आयोजनामा पोखरास्थित वाटरफ्रन्ट रिसोर्टमा स्वागत तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा विद्यालयका प्लस टु संयोजक, शिक्षकशिक्षिका तथा कक्षा ११ र १२ का विद्यार्थीहरूको सहभागिता रहेको थियो। कार्यक्रमको अध्यक्षता कक्षा १२ का विद्यार्थी सुजल बरालले गरेका थिए।
नवआगन्तुक कक्षा ११ का विद्यार्थीलाई विद्यालय परिवारमा औपचारिक रूपमा स्वागत गर्ने उद्देश्यले आयोजित कार्यक्रममा कक्षा ११ र १२ का विद्यार्थीहरूले विभिन्न सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए। कार्यक्रममा विद्यार्थीहरूले नृत्य तथा गायन प्रस्तुत गर्दै कार्यक्रमलाई मनोरञ्जनात्मक र उत्साहपूर्ण बनाएका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका प्रध्यानाध्यापक सिद्धार्थ शर्माले कक्षा ११ मा प्रवेश गरेका विद्यार्थीहरूलाई स्वागत गर्दै विद्यालयमा अध्ययनसँगै अनुशासन, सकारात्मक सोच, सिर्जनशीलता र अतिरिक्त क्रियाकलापमा समेत सक्रिय रहन आग्रह गरे। उनले विद्यालयमा नयाँ यात्रा सुरु गरेका विद्यार्थीहरूले आफ्नो प्रतिभा र क्षमतालाई सही दिशामा प्रयोग गर्दै शैक्षिक तथा व्यक्तिगत विकासमा अघि बढ्नुपर्नेमा जोड दिए।
त्यस्तै, विद्यालयका प्रबन्ध निर्देशक खिम गुरुङले नयाँ विद्यार्थीहरूलाई स्वागत गर्दै विद्यालयले विद्यार्थीको सर्वाङ्गीण विकासलाई प्राथमिकतामा राख्दै आएको बताए। उनले विद्यार्थीहरूलाई आफ्नो लक्ष्यप्रति प्रतिबद्ध रहँदै विद्यालयले उपलब्ध गराउने अवसरहरूको सदुपयोग गर्न आग्रह गरे।
कार्यक्रममा कक्षा ११ का विद्यार्थीहरूले कक्षा १२ का विद्यार्थी तथा शिक्षकहरूप्रति आभार व्यक्त गर्दै नयाँ शैक्षिक यात्रामा आफूहरू उत्साहित रहेको बताएका थिए। स्वागत कार्यक्रमले कक्षा ११ र १२ का विद्यार्थीबीच आपसी परिचय, आत्मीयता र सहकार्यको वातावरण निर्माण गर्न महत्वपूर्ण भूमिका खेलेको विद्यालयले जनाएको छ।






