पोखरा । बेसलाइन एकेडेमीको आयोजनामा अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। पोखराको सेन्ट्रल भिल्ला , बीपी मार्गमा आयोजित कार्यक्रममा विद्यालयका अभिभावक, शिक्षक तथा विद्यालय व्यवस्थापनको सहभागिता रहेको थियो।
विद्यालयका अध्यक्ष षडानन्द गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रवि किरणले सहजीकरण गरेका थिए। उनले अभिभावकको भूमिका, बालबालिकाको मनोविज्ञान, सिकाइ प्रक्रिया तथा घर र विद्यालयबीचको प्रभावकारी समन्वयका विषयमा अभिभावकलाई अभिमुखीकरण गरेका थिए।
अभिमुखीकरणका क्रममा किरणले बालबालिकाको शैक्षिक विकाससँगै उनीहरूको भावनात्मक, सामाजिक तथा व्यवहारिक विकासमा समेत अभिभावकको महत्वपूर्ण भूमिका रहने बताएका थिए। उनले बालबालिकालाई आवश्यक सहयोग, सकारात्मक वातावरण र उचित मार्गदर्शन प्रदान गर्न अभिभावक तथा विद्यालयबीच निरन्तर सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए।
कार्यक्रममा बोल्दै विद्यालयका अध्यक्ष षडानन्द गौतमले विद्यार्थीको समग्र विकासका लागि विद्यालय र अभिभावकबीचको सहकार्य अपरिहार्य रहेको बताएका थिए। उनले विद्यालयले प्रदान गर्ने शिक्षालाई घरको वातावरण र अभिभावकको सकारात्मक भूमिकाले थप प्रभावकारी बनाउने धारणा व्यक्त गरेका थिए।
त्यसैगरी, विद्यालयकी प्रधानाध्यापक शोभा गौतमले विद्यार्थीको शैक्षिक प्रगति तथा व्यक्तित्व विकासका लागि विद्यालय र अभिभावकबीच नियमित संवाद र समन्वय आवश्यक रहेको बताएकी थिइन्। उनले विद्यालयले विद्यार्थीको सर्वाङ्गीण विकासलाई प्राथमिकतामा राखेर शैक्षिक गतिविधि सञ्चालन गर्दै आएको उल्लेख गरेकी थिइन्।
कार्यक्रममा अभिभावकहरूले बालबालिकाको शिक्षा, व्यवहार तथा समग्र विकाससँग सम्बन्धित विषयमा जिज्ञासा तथा सुझावसमेत राखेका थिए। कार्यक्रमले विद्यालय र अभिभावकबीचको सम्बन्धलाई थप सुदृढ बनाउँदै विद्यार्थीको सिकाइ उपलब्धि अभिवृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको थियो।





