पोखरा । पोखरा महानगरपालिका ३२ स्थित गोगन माध्यमिक विद्यालयलाई स्थानीय बस्नेत परिवारले २३ लाख ५२ हजार ४ सय रुपैयाँ आर्थिक सहयोग गरेको छ । तल्लो गगनगौंडा निवासी स्वर्गीय भक्तबहादुर बस्नेतको स्मृतिमा उनका परिवारले बुधबार विद्यालयलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।
स्वर्गीय बस्नेतकी पत्नी चिनुमाया बस्नेतसहित छोराहरू सूर्य, महेन्द्र र दीपेन्द्र बस्नेतले संयुक्त रूपमा उक्त रकम प्रदान गरेका हुन् । बुहारीहरू जानुका, तारा र कविता बस्नेत तथा नातिनातिनाहरूको तर्फबाट विद्यालयका प्रधानाध्यापक किरणबाबु न्यौपानेलाई चेक हस्तान्तरण गरिएको हो ।
विद्यालयमा २०६६ साल फागुन १५ देखि २२ गतेसम्म सञ्चालन भएको महायज्ञका क्रममा बस्नेत परिवारले २५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ दान गर्ने घोषणा गरेको थियो । उक्त प्रतिबद्धताअनुसार बाँकी रहेको रकम बुधबार एक कार्यक्रमका बीच विद्यालयलाई हस्तान्तरण गरिएको प्रधानाध्यापक न्यौपानेले जानकारी दिए ।
कार्यक्रममा पोखरा महानगरपालिका ३२ का वडाध्यक्ष अक्कलबहादुर कार्की प्रमुख अतिथिका रूपमा उपस्थित थिए । विद्यालय व्यवस्थापन समितिका पूर्व सदस्य कृष्णबहादुर बस्नेतले विद्यालयलाई आवश्यक पर्दा आगामी दिनमा पनि तन, मन र धनले सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले परिवारको तर्फबाट स्वर्गीय भक्तबहादुर बस्नेतको शालिक निर्माण गरिदिने तथा विद्यालयलाई ३ थान कुलर उपलब्ध गराउने घोषणा पनि गरे ।
विद्यालयका प्रधानाध्यापक किरणबाबु न्यौपानेले बस्नेत परिवारले गरेको सहयोगप्रति आभार व्यक्त गरे । प्राप्त रकम विद्यालयको शैक्षिक तथा भौतिक विकासका लागि सदुपयोग गरिने उनले जानकारी दिए । यस सहयोगले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिमा महत्वपूर्ण टेवा पुग्नेछ, प्रधानाध्यापक न्यौपानेले भने । उनले सहयोगी बस्नेत परिवारको सुख, शान्ति र समृद्धिको कामना समेत गरे ।
कार्यक्रममा पूर्व जिल्ला शिक्षा अधिकारी नगेन्द्र रेग्मी तथा पूर्व अध्यक्षहरू खेमराज अधिकारी, शंकरबहादुर केसी, खड्गबहादुर बस्नेत र प्रकाशचन्द्र पागलको सहभागिता रहेको थियो । त्यसैगरी पूर्व सदस्यहरू गणेश खत्री, भगवती पौडेल, अर्जुन बास्तोला र प्रकाश न्यौपानेले पनि बस्नेत परिवारप्रति आभार व्यक्त गरे ।
समारोहमा पूर्व अध्यक्ष खेम पुन, जिल्ला सूचना सदस्य मेघनाथ आचार्य, पूर्व प्रधानाध्यापक नारायणप्रसाद बराल र सूर्यमणि पौडेलको समेत उपस्थिति थियो । शिक्षक अभिभावक संघका अध्यक्ष नरबहादुर पुन, बाल क्लबकी अध्यक्ष स्नेहा शर्मा, शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको सहभागिता रहेको कार्यक्रम प्रधानाध्यापक न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा पूर्व प्रधानाध्यापक डम्बरप्रसाद पौडेलले स्वागत मन्तव्य राखेका थिए भने सहायक प्रधानाध्यापक चन्द्रमाया थापाले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।





