पोखरा । पोखराका युवा वैज्ञानिक डा. निरञ्जन कोइरालासहित ३१ जना नेपाली वैज्ञानिक विश्वका शीर्ष २ प्रतिशत वैज्ञानिकको सूचीमा परेका छन्।
अमेरिकाको स्ट्यानफोर्ड विश्वविद्यालयले एल्सेभियरसँगको सहकार्यमा तयार पारेको वार्षिक सूचीमा नेपाली वैज्ञानिकहरू समेटिएका हुन्।
अन्तर्राष्ट्रिय सूचीमा नेपाली वैज्ञानिकको उपस्थिति नेपालमा पनि विश्वस्तरमा प्रभाव पार्न सक्ने क्षमता भएका अनुसन्धानकर्ता रहेको प्रमाण भएको डा. कोइरालाले बताए। यसले अन्तर्राष्ट्रिय जगतमा नेपाल र नेपालीप्रतिको दृष्टिकोण सुधार्नसमेत सहयोग पुग्ने उनको भनाइ छ।
नेपाललाई नवीन वस्तु तथा प्रविधिको निर्यात गर्ने मुलुकका रूपमा विकास गर्न वैज्ञानिक अनुसन्धान र नवप्रवर्तनमा लगानी बढाउनुपर्नेमा उनले जोड दिए।
यसका लागि सरकारले वैज्ञानिकलाई आर्थिक सहयोग उपलब्ध गराउनुका साथै निजी क्षेत्रले पनि अनुसन्धानमा लगानी गर्नुपर्ने उनले बताए।
स्ट्यानफोर्ड विश्वविद्यालय र एल्सेभियरले तयार पार्ने सूचीमा अनुसन्धानकर्ताको वैज्ञानिक योगदान तथा अनुसन्धानको प्रभावलाई आधार बनाइन्छ।
यसका लागि स्कोपस डाटाबेसबाट प्राप्त मानकीकृत उद्धरण सूचकांक, वैज्ञानिक प्रकाशन र अनुसन्धानको प्रभावसम्बन्धी सूचक प्रयोग गरिन्छ।
दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) राष्ट्रमध्ये भारतका ६ हजार ९५३, पाकिस्तानका १ हजार ३४, बंगलादेशका ३४७ र श्रीलंकाका ६८ वैज्ञानिक सूचीमा समेटिएका छन्।
त्यस्तै, अफगानिस्तानका दुई तथा भुटान र माल्दिभ्सका एक–एक जना वैज्ञानिक सूचीमा परेका छन्।
विश्वव्यापी सूचीमा भने संयुक्त राज्य अमेरिकाका ७३ हजार ६३८ वैज्ञानिकसहित अमेरिका पहिलो र चीनका ३७ हजार २०३ वैज्ञानिकसहित चीन दोस्रो स्थानमा रहेको उपलब्ध विवरणमा उल्लेख छ।
वैज्ञानिक अनुसन्धानलाई प्रोत्साहन गर्न अनुदान, संस्थागत सहयोग र आवश्यक पूर्वाधार उपलब्ध गराउन सके नेपालमै नयाँ प्रविधि तथा वस्तु विकास गर्न सकिने कोइरालाको भनाइ छ।
नेपाली वैज्ञानिकको अनुसन्धानलाई निरन्तरता दिन र त्यसलाई उत्पादन तथा निर्यातसँग जोड्न सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक रहेको उनले बताए।






