काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत ओमानमा जारी शृङ्खलामा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ। मंगलबार भएको खेलमा नेपालले घरेलु टोली ओमानलाई ११३ रनले पराजित गरेको हो।
अल अमेरत क्रिकेट ग्राउन्डमा नेपालले दिएको २६४ रनको लक्ष्य पछ्याएको ओमान ४० ओभरमा १५० रनमा अलआउट भयो। ओमानका कप्तान विनायक शुक्लाले सर्वाधिक ७७ रन बनाए पनि टोलीलाई जिताउन सकेनन्।
नेपालका नन्दन यादव र कप्तान सन्दीप लामिछानेले ३-३ विकेट लिए। नन्दनले ६ ओभरमा १२ रन खर्चिए भने सन्दीपले ९ ओभरमा २८ रन दिए। दीपेन्द्रसिंह ऐरीले २ तथा करण केसी र ललित राजवंशीले १-१ विकेट लिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २६३ रन बनाएको थियो। नेपालका लागि रोहित पौडेलले सर्वाधिक ६१ रन बनाए। उनले ६७ बलमा ३ चौका र १ छक्का प्रहार गरे।
करण केसीले आक्रामक ब्याटिङ गर्दै १६ बलमा ४० रन बनाए। उनले ४९औँ ओभरमा हस्नेन शाहलाई लगातार तीन छक्का प्रहार गरेका थिए। अर्जुन कुमालले ४०, बसिर अहमद र इशान पान्डेले समान ३७ तथा दीपेन्द्रसिंह ऐरीले २२ रन बनाए।
ओमानका शाह फेसल, शकील अहमद र करण सोनाभालेले २-२ विकेट लिए भने हस्नेन शाहले १ विकेट लिए।
जितसँगै नेपालले लिग–२ को अंकतालिकामा ३४ खेलबाट २८ अंक जोडेको छ। नेपाल छैटौँ स्थानमा छ भने ३० खेलबाट ३३ अंक जोडेको ओमान चौथो स्थानमा छ।
नेपालले अब आगामी शनिबार क्यानडासँग खेल्नेछ।





