पोखरा । पोखरा महानगरपालिका-७, रत्नचोकस्थित सबलाइम अंग्रेजी माध्यमिक विद्यालयले विजयादशमी, दीपावली, छठ र ईदलगायत पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ।
विद्यालयले पूर्वप्राथमिक तहदेखि कक्षा १२ सम्मका विद्यार्थीलाई सहभागी गराएर कार्यक्रम आयोजना गरेको हो।
कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष त्रिभुवन पराजुली, प्राचार्य तथा निर्देशक पुष्पराज पराजुली, निर्देशक ठाकुरप्रसाद पराजुली र शिक्षक–शिक्षिकाले विद्यार्थीलाई टीका र जमरा लगाइदिएर शुभकामना व्यक्त गरेका थिए।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष त्रिभुवन पराजुलीले दशैँ नेपाली समाजको महत्वपूर्ण सांस्कृतिक पर्व भएको बताउँदै यसले परिवार र समुदायबीच आपसी सद्भाव, प्रेम र एकताको भावना बलियो बनाउने बताए।
बालबालिकालाई सानैदेखि चाडपर्वको सांस्कृतिक महत्व, पारिवारिक आत्मीयता र सामाजिक सद्भावबारे बुझाउन यस्ता कार्यक्रम उपयोगी हुने उनको भनाइ थियो।
विद्यालयका प्राचार्य पुष्पराज पराजुलीले चाडपर्वले बालबालिकालाई खुसी साटासाट गर्न, एकअर्काको सम्मान गर्न र आफ्नो संस्कृतिबारे बुझ्न अवसर प्रदान गर्ने बताए।
विभिन्न धर्म र समुदायका पर्वलाई सम्मान गर्दै सबै मिलेर खुसी बाँड्ने संस्कार विकास गर्नुपर्नेमा उनले जोड दिए। विद्यालयले हरेक वर्ष विभिन्न पर्वका अवसरमा यस्ता कार्यक्रम गर्दै आएको जानकारीसमेत उनले दिए।
निर्देशक ठाकुरप्रसाद पराजुलीले यस्ता गतिविधिले विद्यार्थीलाई पाठ्यपुस्तकको ज्ञानसँगै नेपाली संस्कृति, परम्परा र सामाजिक सद्भावको महत्व बुझ्न सहयोग पुग्ने बताए।
वि.सं. २०५२ सालमा स्थापित सबलाइम विद्यालयले पूर्वप्राथमिक तहदेखि माध्यमिक तहसम्म शिक्षा प्रदान गर्दै आएको छ। विद्यालयमा कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन, होटल व्यवस्थापन र कम्प्युटर विज्ञान विषयको पठनपाठन हुँदै आएको छ। ‘गुणस्तरीय शिक्षा र सबैका लागि शिक्षा’ भन्ने आदर्शलाई विद्यालयले प्राथमिकतामा राखेको छ।






