पोखरा । पोखरा महानगरपालिका-१७, महतगौंडास्थित ढुङ्गेसाँघु बोर्डिङ स्कुलले विजयादशमी, दीपावली, नेपाल संवत्, छठलगायत पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ।
विद्यालयले पूर्वप्राथमिक तहदेखि कक्षा १० सम्मका विद्यार्थीलाई सहभागी गराएर कार्यक्रम आयोजना गरेको हो।
कार्यक्रममा विद्यार्थीले चंगासमेत उडाएका थिए।
विद्यालयका इन्चार्ज ध्रुवबन्धु रिजाल, कोअर्डिनेटर दयासागर पौडेल तथा कक्षा शिक्षक-शिक्षिकाले विद्यार्थीलाई टीका र जमरा लगाइदिएर पर्वको शुभकामना व्यक्त गरेका थिए।
विद्यालयका प्राचार्य विष्णु जिसीले चाडपर्व उत्सव मनाउने अवसर मात्र नभई बालबालिकालाई आफ्नो संस्कृति, परम्परा र संस्कार सिकाउने माध्यमसमेत भएको बताए।
यस्ता पर्वले विद्यार्थीमा अनुशासन, नैतिक मूल्य र सामाजिक सद्भावको भावना विकास गर्न सहयोग पुग्ने उनको भनाइ थियो।
विभिन्न धर्म र समुदायका पर्वलाई सम्मान गर्दै आपसमा खुसी साटासाट गर्ने संस्कार विकास गर्नुपर्नेमा जोड दिँदै प्राचार्य जिसीले विद्यार्थी, अभिभावक, शिक्षक तथा विद्यालयका शुभचिन्तकमा सुख, शान्ति, समृद्धि र प्रगतिको शुभकामना व्यक्त गरे।
वि.सं. २०६३ सालमा स्थापना भएको विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ। ‘विवेक, उत्कृष्टता र दक्षताका लागि शिक्षा’ भन्ने आदर्श बोकेको विद्यालयले विद्यार्थीलाई इमानदार, अनुशासित, मानवीय भावना भएका र सक्षम नागरिकका रूपमा विकास गर्ने लक्ष्य राखेको छ।






