पोखरा । पोखरा महानगरपालिका-१२ स्थित हिलप्वाइन्ट माध्यमिक विद्यालयमा दशैँ उत्सव सम्पन्न भएको छ।
विद्यार्थी, शिक्षक र अभिभावकको सहभागितामा चंगा उडाउने, भलिबल, नृत्य, चित्रकला तथा शुभकामना कार्ड निर्माणलगायतका गतिविधि आयोजना गरी उत्सव मनाइएको हो।
उत्सवअन्तर्गत आयोजित चंगा प्रतियोगितामा १८ जना विद्यार्थी सहभागी भएका थिए। प्रतियोगितामा जनक कार्की प्रथम, गिब्सन घले द्वितीय र सचिन गदल तृतीय भए। प्रतियोगितामा प्रत्येक विद्यार्थीसँग उनका अभिभावकको समेत सहभागिता रहेको थियो।
त्यसैगरी, शिक्षक र विद्यार्थीबीच भलिबल प्रतियोगिता आयोजना गरिएको थियो। उक्त प्रतियोगितामा शिक्षकको टोली विजयी भयो।
कार्यक्रममा विद्यार्थीले नृत्य प्रस्तुत गर्नुका साथै दशैँको शुभकामना कार्ड बनाउने र पेन्टिङ प्रतियोगितामा समेत भाग लिएका थिए।
विद्यार्थीले फुडस्टलसमेत सञ्चालन गरेका थिए। फुडस्टलमार्फत विद्यार्थीलाई व्यवहारिक ज्ञान र सीप सिकाउने प्रयास गरिएको विद्यालयले जनाएको छ।
विद्यालयका प्राचार्य दिवाकर जैशीले दशैँ नेपाली समाजको महत्वपूर्ण सांस्कृतिक पर्व भएको उल्लेख गर्दै यसले परिवार र समुदायबीच आपसी सद्भाव, प्रेम र एकताको भावना बलियो बनाउने बताए।
बालबालिकालाई सानैदेखि चाडपर्वको सांस्कृतिक महत्व, पारिवारिक आत्मीयता र सामाजिक सद्भावबारे बुझाउन यस्ता कार्यक्रम उपयोगी हुने उनको भनाइ थियो।
चाडपर्वले बालबालिकालाई खुसी बाँड्ने, आपसी सम्मान गर्ने र आफ्नो संस्कृतिबारे परिचित हुने अवसर प्रदान गर्ने बताउँदै जैशीले विभिन्न धर्म र समुदायका पर्वलाई सम्मान गर्दै मिलेर खुसी साटासाट गर्ने संस्कार विकास गर्नुपर्नेमा जोड दिए।
विद्यालयले हरेक वर्ष विभिन्न पर्वका अवसरमा विद्यार्थीमाझ यस्ता कार्यक्रम गर्दै आएको छ। यस्ता गतिविधिले विद्यार्थीलाई पुस्तकको ज्ञानसँगै नेपाली संस्कृति, परम्परा र सामाजिक सद्भावको महत्व बुझ्न सहयोग पुग्ने विद्यालयको विश्वास छ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष विजुलीबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षक अभिभावक संघका प्रतिनिधि विद्या गुरुङले पनि शुभकामना व्यक्त गरेकी थिइन्।
कार्यक्रम सञ्चालन सहायक प्राचार्य गंगाराम पौडेलले गरेका थिए।
वि.सं. २०३८ सालमा स्थापित हिलप्वाइन्ट माध्यमिक विद्यालयमा हाल नौ सय ५० विद्यार्थी अध्ययनरत छन्। विद्यालयमा कक्षा १२ सम्म पठनपाठन हुँदै आएको छ।
कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन, होटल व्यवस्थापन र फाइन आर्ट विषयको अध्ययन हुने गरेको विद्यालयले जनाएको छ।






