काठमाडौँ । देशका विभिन्न सात जिल्लामा भएका सवारी दुर्घटनामा एक बालकसहित सात जनाको मृत्यु भएको छ। मोरङ, सर्लाही, भक्तपुर, तनहुँ, रुपन्देही, बाँके र नवलपरासी पश्चिममा भएका दुर्घटनामा उनीहरूको मृत्यु भएको हो।
मोरङको ग्रामथान गाउँपालिका-२ खुनियाकट्टामा असोज २० गते मोटरसाइकलको ठक्करबाट घाइते भएका ६० वर्षीय नमो नारायण चौधरीको उपचारका क्रममा असोज २७ गते मृत्यु भएको छ।
सर्लाहीको कबिलासी नगरपालिका-१० चमेलीमाई मन्दिरनजिक असोज २७ गते मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा घाइते भएकी ४५ वर्षीया मन्जुदेवी झाको उपचारका क्रममा असोज २८ गते मृत्यु भएको छ।
भक्तपुरको मध्यपुर थिमि नगरपालिका-८ बोडेमा मोटरसाइकल दुर्घटनामा घाइते भएका २३ वर्षीय प्रशान्त कार्कीको उपचारका क्रममा असोज २७ गते मृत्यु भएको प्रहरीले जनाएको छ।
तनहुँको भिमाद नगरपालिका-५ शितलमार्गमा मोटरसाइकलको ठक्करबाट घाइते भएका तीन वर्षीय स्वरुप गैरेलाई चिकित्सकले असोज २७ गते मृत घोषणा गरेका थिए।
रुपन्देहीको रोहिणी गाउँपालिका-३ टुलटुलेसमा अटो र मोटरसाइकल ठोक्किँदा घाइते भएकी मोटरसाइकलमा सवार ४६ वर्षीया रीता देवी कहारको मृत्यु भएको छ।
बाँकेको राप्तीसोनारी गाउँपालिका-६ पनेरियामा अटोको ठक्करबाट घाइते भएका पाँच वर्षीय शिवम थारुको उपचारका क्रममा मृत्यु भएको छ।
त्यस्तै, नवलपरासी पश्चिमको रामग्राम नगरपालिका-५ बाइपासमा विङ्गरको ठक्करबाट घाइते भएका ८० वर्षीय टेकु थारुलाई चिकित्सकले मृत घोषणा गरेका थिए।






