जाजरकोट । जाजरकोटको जुनिचाँदे गाउँपालिका-२ गैरीगुवामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
प्रहरीका अनुसार बिहीबार बिहान करिब २ बजे सुर्खेतबाट जुनिचाँदेतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ च १२४३ नम्बरको जीप अनियन्त्रित भएर सडकबाट करिब ३०० मिटर तल खसेको थियो।
दुर्घटनामा जीप चालक जुनिचाँदे गाउँपालिका-९ कल्ली स्यालाका २० वर्षीय सन्तबहादुर बस्नेत र जुनिचाँदे गाउँपालिका-३ स्यालाकी ३० वर्षीया बिपना भण्डारीको घटनास्थलमै मृत्यु भएको छ।
दुर्घटनामा दिलबहादुर भण्डारी, उनका चार वर्षीय छोरा सुशील भण्डारी र ५० वर्षीया सितला टमटा घाइते भएका छन्।
घाइते तीनै जनालाई उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत पठाइएको प्रहरीले जनाएको छ।






