पोखरा। पोखरा महानगरपालिका वडा नं १७ विरौटास्थित वेष्ट प्वाइन्ट चिल्ड्रेन एकेडेमीमा विजयादशमी, दीपावली, नेपाल संवत्, छठलगायत पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ।
विद्यालयले पूर्वप्राथमिक तहदेखि कक्षा १० सम्मका विद्यार्थीलाई सहभागी गराएर कार्यक्रम आयोजना गरेको हो।
विद्यालयका संस्थापक नवीन बराल र उषा पराजुली बराल, प्राचार्य डिल्लीराम पौडेल, सहायक प्राचार्य प्रभात क्षेत्रीसहित शिक्षक-शिक्षिकाले विद्यार्थीलाई टिका र जमरा लगाइदिएर शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा विद्यालयका संस्थापक बरालले दशैँ नेपाली समाजको महत्वपूर्ण सांस्कृतिक पर्व भएको उल्लेख गर्दै यसले परिवार र समुदायबीच आपसी सद्भाव, प्रेम र एकताको भावना बलियो बनाउने बताए।
बालबालिकालाई सानैदेखि चाडपर्वको सांस्कृतिक महत्व, पारिवारिक आत्मीयता र सामाजिक सद्भावबारे बुझाउन यस्ता कार्यक्रम उपयोगी हुने उनको भनाइ थियो।
संस्थापक उषा पराजुली बरालले यस्ता गतिविधिले विद्यार्थीलाई पुस्तकको ज्ञानसँगै नेपाली संस्कृति, परम्परा र सामाजिक सद्भावको महत्व बुझ्न सहयोग पुग्ने विश्वास व्यक्त गरिन्।
विद्यालयका प्राचार्य डिल्लीराम पौडेलले चाडपर्वले बालबालिकामा खुसी बाँड्ने, आपसी सम्मान गर्ने र आफ्नो संस्कृतिप्रति परिचित हुने अवसर प्रदान गर्ने बताए ।
विभिन्न धर्म र समुदायका पर्वलाई सम्मान गर्दै सबै मिलेर खुसी साटासाट गर्ने संस्कार विकास गर्नुपर्नेमा उनले जोड दिए्। विद्यालयले हरेक वर्ष विभिन्न पर्वका अवसरमा विद्यार्थीमाझ यस्ता कार्यक्रम गर्दै आएको उनले जानकारी दिए।
२०५९ सालमा स्थापित विद्यालयमा कक्षा १२ सम्म कम्प्युटर विज्ञान, होटल व्यवस्थापन र व्यवस्थापनको पढाइ हुने गर्दछ। विद्यालयमा हाल ९९५ जना विद्यार्थी अध्ययनरत छन्।






