पोखरा । ‘विपद्मा सारथी, संकटमा छहारी, प्रविधियुक्त नेपाल प्रहरी’ भन्ने मूल नाराका साथ ७१औँ प्रहरी दिवस-२०८३ को मूल समारोह पोखरामा सम्पन्न भएको छ।
गण्डकी प्रदेश प्रहरी कार्यालयको आयोजनामा शुक्रबार आयोजित समारोहमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गर्दै कर्तव्यपालनका क्रममा शहादत प्राप्त प्रहरी कर्मचारीको योगदान स्मरण गरे। उनले अमर प्रहरीप्रति श्रद्धाञ्जलीसमेत अर्पण गरेका थिए।
समारोहमा दैनिक प्रहरी कार्यमा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारी तथा गण्डकी प्रदेश प्रहरीलाई विभिन्न क्षेत्रमा सहयोग र योगदान पुर्याउने व्यक्तित्वलाई पुरस्कार र प्रशंसापत्र प्रदान गरिएको थियो।
कार्यक्रममा गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक दीपेन्द्र घर्ती क्षेत्रीले प्रहरी दिवसमा उपस्थित अतिथिलाई धन्यवाद ज्ञापन गर्दै शान्ति, सुरक्षा र अमनचयन कायम गर्न नेपाल प्रहरीले महत्त्वपूर्ण योगदान दिँदै आएको बताए। प्राकृतिक प्रकोप तथा शान्ति सुरक्षाका चुनौतीमा प्रहरीले इमानदारी र जिम्मेवारीपूर्वक काम गर्दै व्यावसायिक क्षमता पनि अभिवृद्धि गरेको उनको भनाइ थियो।
नेपाल प्रहरी प्रदेश कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामकृष्ण अधिकारीले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको शुभकामना सन्देश वाचन गरेका थिए।
कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, गण्डकी विश्वविद्यालयका कुलपति प्राध्यापक डा. इन्द्रप्रसाद तिवारी, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका आन्तरिक मामिला सचिव तीर्थराज चिलुवाल, नेपाल पूर्वप्रहरी संगठन गण्डकी प्रदेशका अध्यक्ष एकनारायण शर्मा, कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङ, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेललगायत सहभागी थिए।
त्यस्तै, पश्चिम पृतना हेडक्वार्टर पोखराका पृतनापति उपरथी भोलानाथ थापा, अवकाशप्राप्त प्रहरी कर्मचारी, अमर प्रहरीका परिवार तथा वरिष्ठ प्रहरी अधिकृतको पनि उपस्थिति थियो।






