पोखरा ,
[adrotate banner=”6″]
गण्डकी प्रदेश सरकारले प्रदेशका दुई जिल्लामा प्रदेश स्तरीय क्रिकेट रंगशाला निर्माण गर्ने घोषणा गरेको हो । गण्डकी प्रदेश सरकारको मन्त्री परिषदको चैत्र ९ गते बसेको बैठकले उक्त निर्णय गरेको थियो ।
बैठकले नवलपुरको कावासोती नगरपालिका वडा नं २ नवदुर्गा खेल मैदान र तनहुँ शुक्लागण्डकी वडा नं ८ गाउँफर्कोदय माविको खेल मैदानलाई प्रदेशस्तरीय क्रिकेट खेल मैदान निर्माण गर्ने निर्णय गरेको प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्माले जानकारी दिएका थिए ।
प्रादेशिकस्तरीय क्रिकेट रंगशाला र एक अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माण प्रक्रिया अघि बढाउन परिषदले जिल्लाको विभिन्न ६ स्थानका लागि प्रदेश सरकारलाई सिफारिश गरेको बताउँदै सदस्य सचिव शर्माले –“हामीले समिति नै गठन गरेर अध्ययन गरेका थियौं । सोही अध्ययनको आधारमा सरकारले दुई स्थानमा प्रदेशस्तरीय रंगशाला निर्माण हुने गरी मन्त्रिपरिषद्ले निर्णय गरेको छ ”भनि बताएका थिए ।
प्रादेशिकस्तरीय क्रिकेट रंगशाला निर्माणका लागि एक रंगशालाबाट अर्को रंगशालाको दुरी कम्तिमा ४० किमि भित्र हुनुपर्ने प्रावधान अनुसार नवलपुरको कावासोतीस्थित नवदुर्गा खेल मैदान नेपालकै गौरवको अन्तर्राष्ट्रिय गौतमबुद्ध क्रिकेट रंगशालाबाट ४० किमि भित्र पर्ने भएकोले पनि उक्त स्थानमा प्रादेशिक क्रिकेट रंगशाला उपयुक्त हुने गरी मन्त्री परिषदले निर्णय गरेको सदस्य सचिव शर्माले,“गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि पनि नजिकमा पर्ने अर्को रंगशाला आवश्यक पर्छ । सबै कुराले कावासोती उपयूक्त पनि छ”, भनि बताएका थिए ।
त्यसै गरी शुक्लागण्डकीको गाउँफर्कोदय माविको खेल मैदान समेत पोखरा क्रिकेट रंगशालाबाट ४० किमि भित्रै पर्ने भएकोले उक्त स्थान समेत क्रिकेट मैदान निर्माणका लागि मन्त्री परिषदले निर्णय गरेको सदस्य सचिव शर्माले जानकारी दिएका थिए । प्रदेश सरकारले क्रिकेट मैदान निर्माणका लागि यो वर्षको विनियोजित ४० लाख रुपैयाँ सोही मैदान निर्माण प्रक्रियाका लागि अघि बढाउने जनाएको हो । “यि दुबै स्थान प्रादेशिक क्रिकेटका लागि उपयुक्त छन्” सदस्य सचिब शर्माले भने–“कावासोतीका लागि त्यहाँको नगरपालिकाले २ सय रोपनी जग्गाका लागि स्विकृत दिएको छ भने शुक्लागण्डकीको लागि गाउँफर्काेदय माविको स्वामित्वमा रहेको करिव १ सय ७३ रोपनी जग्गाको समेत स्विकृती प्राप्त भएको छ ।”
परिषदले कार्यकारी सदस्य ऋषिराम गौतमको संयोजकत्वमा परिषदका कार्यकारी सदस्य तारामाया थापा मगर, सदस्यहरू केशव पाठक र विष्णुमाया गुरुङ, कार्यालय प्रमुख तोपलाल भुसाल र लेखा प्रमुख निलकण्ठ ढकालसहितको क्रिकेट रंगशाला सम्भाव्यता अध्ययन टोली गठन गरेको थियो ।
टोलीले जिल्लाका विभिन्न स्थलको अध्ययन अवलोकन सँगै स्थानीय सरोकारवालाहरू सँग समेत छलफल गरी पोखरा महानगर पालिका वडा नं–१४ भेडीफार्ममा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला र अन्य पाँच स्थानमा प्रादेशिक क्रिकेट रंगशाला निर्माणका लागि सिफारिस गरेका थिए । तर पोखरा १४ स्थित भेडीफार्मको जग्गाको विषयमा कुनै निर्णय नभएकोले सो बारे मन्त्रिपरिषद्ले कुनै निर्णय भने गर्न सकेको छैन । तर यता परिषदले नेपाल सरकारको कृषि मन्त्रालय अन्तर्गत रहेको उक्त जग्गा भेडीफार्मको चरण एरिया समेत भएकोले हस्तान्तरणका लागि लामो प्रक्रिया अपनाउनु पर्ने भएकोले परिषदले सो को विकल्पमा नयाँ स्थानको खोजी कार्य तिव्र रुपमा अघि बढाएको अध्ययन टोलीका संयोजक शर्माले बताएका छन् ।
[adrotate banner=”3″]
[adrotate banner=”4″]
[adrotate banner=”5″]






