[adrotate banner= “3”]
मुस्लिम आयोगले विजया दशमी एवं शुभ दीपावलीको अवसरमा शुभकामना दिएको छ ।
आईतवार ललितपुरमा आयोगले विजया दशमी, शुभ दीपावली, नेपाल संवत, छठ लगायतका पर्वहरुको शुभकामना आदानप्रदान कार्यक्रम गरी शुभकामना दिएको हो । कार्यक्रममा बोल्दै मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले कुनै अपराध गर्ने व्यक्तिलाई जात र धर्मका नाममा उन्मुक्ति दिन नहुने बताउनु भयो । उहाँले अपराधीको कुनै धर्म नहुने भन्दै सामाजिक सद्भाव बिथोल्नेहरुलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताउनु भयो । उहाँले केही तत्वहरुले नेपालमा मिलेर बसिरहेका विभिन्न समुदायबीचमा एक आपसमा भिडाएर स्वार्थपूर्ति गर्न खोजिरहेको भन्दै चाडपर्वहरुले यस्ता अराजकता हटाउने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘मुस्लिम आयोगले बारम्बार भन्दै आइरहेको यदी कुनै अपराध गर्ने व्यक्ति हो भने कुनै समुदायमा त्यसलाई बाँध्न मिल्दैन । अपराधीको कुनै जात धर्म हुँदैन । यदी मुस्लिम समुदायका व्यक्तिले पनि अपराध गर्छ भने उसलाई छुट दिने नेपालको कानूनमा छैन । केही तत्वहरुले हाम्रो देशमा मिलेर बसिरहेका विभिन्न समुदायबीचमा एक आपसमा सदियौँदेखि जुन प्रकारको बसोवास गर्दै आइरहेको छ, चाडपर्वमा रमाउने, खुशीयाली आदानप्रदान गर्ने, यस्ता समयमा खासगरी चाडपर्वको बेलामा मौका छोपेर घुसपैठ भएर त्यहाँ आफैँले दुर्घटना गराउने र केही समुदायका व्यक्तिहरुको नाम लिने र त्यहाँ अराजक शैलीमा प्रश्तुत हुने यसप्रति सधैँ मुस्लिम आयोग गम्भीर भएको छ ।’
शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले महिलाहरु मठ मन्दिर, पसहरुमा सामान किन्न जाँदा र सार्वजनिक सवारीसाधनमा विभिन्न हिंसा हुने गरेको भन्दै शतर्कता अपनाउन आग्रह गर्नुभयो । उहाँले महिलामाथिको दुव्र्यवहारलाई मध्यनजर गरी सुरक्षा व्यवस्था कडा बनाइएको बताउनु भयो । उहाँले ाठमाडौंभर विभिन्न सवारीसाधनहरुमा विशेष छानविन गर्नेगरी सञ्चालन गरिरहेको बताउनु भयो । साधा पोशाकमा प्रहरी खटाउनेदेखि अन्य सुरक्षासम्बन्धी काम गरिरहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘चाडपर्वमा विशेष गरेर महिलाहरु मठ मन्दिरमा जाँदा वा पसहरुमा सामान किन्न जाँदा, सार्वजनिक सवारीसाधनमा यौन हिंसा गरेको, वा विभिन्न किसिमले उनीहरुमाथि दुव्र्यवहार गरेको घटनाहरु हामीसँग प्रशस्त रुपमा छ । काठमाडौंभर विभिन्न सवारीसाधनहरुमा विशेष छानविन गर्नेगरी एउटा अभियान तीन चार वर्षदेखि गरिरहेका छौँ । त्यसका लागि साधा पोशाकमा प्रहरी साथीहरु ५० जनाको संख्यामा विभिन्न रुटमा परिचालित हुनुहुन्छ । यो वर्ष नै उपत्यकामा युनिफर्म, साधा पोशाक प्रहरी, सिसि क्यामेराहरु जडान गरी सुरक्षाका लागि सहजीकरण गर्ने काममा लागेका छौँ ।’
कार्यक्रममा बोल्दै राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले नेपालमा विभिन्न धर्मका मानिसहरु मिलेर बसिरहेको भन्दै चाडपर्वमा पनि एकले अर्कोलाई सहयोग र सम्मान गर्न सक्नुपर्ने बताउनु भयो । उहाँले हिन्दुहरुको महान चाड दशैँ आइरहेको भन्दै हर्षोल्लासपूर्वक मनाउन शुभकामना दिनुभयो ।
उहाँले भन्नुभयो, ‘हामी विभिन्न धर्मका मानिसहरु छौँ, देशमा । तथापि हामी मिलेर बसेका छौँ । हाम्रो संविधानले पनि धार्मिक स्वतन्त्रता दिएको छ । आफ्नो धर्म मान्न पाइन्छ । हिन्दुहरुको महान चाड दशैँ अहिले छ । यसको लागि शुभकामना व्यक्त गर्दछु । प्राकृतिक प्रकोपका कारण देशमा दुःख छ तथापि चाड मनाउँदा सबै आफ्नो घर जान चाहनुहुन्छ, बस र विमानको टिकट नपाएको गुनासो छ । कसैलाई दुःख नहोस्, शान्ति र सुखपूर्वक चाडवाड मनाउनुपर्छ ।’
मुस्लिम आयोगले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा नेपाल प्रहरी, राष्ट्रिय मानव अधिकार आयोग, महिला आयोग, आदिवासी जनजाति आयोग, थारु आयोग, राष्ट्रिय अनुसन्धान आयोगका प्रमुख लगायतको उपस्थिति रहेको थियो ।
[adrotate banner= “4”]
[adrotate banner= “5”]
[adrotate banner= “6”]






