पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले कानून निर्माण काम रोक्नका लागि नभइ काम गर्नका लागि बनाउनुपर्ने बताएका छन् ।
शुक्रबार काठमाडौंमा स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान) को २५औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
उनले अहिले सरकारले काम गर्नका लागि अध्यादेश ल्याएको स्पष्ट पारे । कतिपयले यसको बिरोध गर्न खोजिरहेको भन्दै १५/२० दिनमा संसदमा पेश भएर दुई महिनाभित्र कानूनको रुप लिइसक्ने उनले स्पष्ट पारे ।
प्रधानमन्त्रीले दुई महिनासम्म देशका काम रोकेर राख्न नमिल्ने भन्दै एउटा देशका लागि दुई महिनाको समय धेरै नै महत्वपूर्ण रहेको बताए ।
उनले विकासका काम अघि बढाउने र जनतको सेवा गर्ने व्यवसायमैत्री सकारात्मक कानून निर्माण जरुरी रहेको स्पष्ट पारे ।
प्रधानमन्त्रीले नेपाली जनतालाई अब गरिब छोडिरहन नसक्ने भन्दै आत्मविश्वासका साथ अघि बढे गरिबी निवारण सम्भव रहेको बताए । सम्पूर्ण जनता अधिकार सम्पन्न हुनुपर्ने र अधिकारको निर्वाध उपयोग गर्न पाउनुपर्नेमा उनले जोड दिए ।
प्रधानमन्त्रीले भने, ‘अहिले हामीले भर्खर कानून अध्यादेशमार्फत ल्याएका छौँ, कतिपयले त्यसको बिरोध गर्न खोजिरहेका छन्, अध्यादेशले शासन खोज्यो भने, १५÷२० दिनभित्र संसद आइसक्छ ।’
उनले थपे, ‘संसद आएको पहिलो दिन त्यहाँ पेश गर्छौं, त्यहाँ छलफल गर्छौं र अगाडि बढाउँछौँ, दुई महिनाभित्र त्यसको टुंगो लागिसक्नुपर्छ, तर दुई महिनासम्म काम रोकेर बस्न मिल्दैन । ’
‘एउटा देशको दुई महिना भनेको महत्वपूर्ण छ, अत्यन्त जरुरी कुराहरु, अहिले खोल्न जरुरी छ, उद्यमी व्यवसायी अहिले तड्पिएका छन्, हाम्रा नीति, कानून बन्नुपर्दछ, काम गर्नका लागि, काम रोक्नका लागि होइन, रोक्न कानून बनेका छन् भने त्यस्ता कानूनलाई फेर्न पर्दछ’, प्रधानमन्त्रीले भने ।
उनले थपे, ‘कामलाई अघि बढाउने, विकासलाई अघि बढाउने, जनतालाई सेवा पुर्याउने र व्यवसायीलाई पुग्ने सकारात्मक कानून परिवर्तन गर्नुपर्छ, एक हप्ता ढिलो हुन्छ भने एक हप्ता अगाडि गर्नुपर्दछ, अध्यादेश भनेको कुनै छुट्टै पृथक केही कुरा होइन ।’
प्रधानमन्त्रीले अधिकारको उपयोगको नाममा सभ्य समाजलाई पाच्य नहुने कुरा बोल्न नहुने बताए । उनले उर्जाको प्रयोग नबढाइ नहुने स्पष्ट पारे । नेपालसँग एक लाख २० हजार मेगावाट भन्दा बढी उर्जा क्षमताको भरपुर प्रयोग गर्नुपर्ने बताए ।






