पोखरा । पोखराबाट ठूलो परिमाणमा अवैध मदिरा र मदिरा बनाउन आवश्यक पर्ने कच्चा पदार्थ प्रहरीले बरामद गरेको छ ।
विशेष सूचनाका आधारमा वडा प्रहरी कार्यालय बैदामले पोखरा महानगरपालिका वडा नं ८ शिवालयचोकबाट सो सामग्री बरामद गरेको हो ।
प्रहरीका अनुसार बरामद तयारी मदिरा करिब ६० लिटर र मदिरा बनाउन ठिक्क बनाइएको करिब छ सय लिटर तरल पदार्थ छन् ।
साथै सो मदिरा बनाउन आवश्यक पर्ने कच्चा पदार्थ करिब पाँच सय केजी बरामद भएको छ । जसमा गहुँ, कोदो, चिनी, मर्चालगायत छन् ।
बैदाम प्रहरीका प्रहरी निरीक्षक कमलकान्त पोखरेलका अनुसार मदिरा, कच्चा पदार्थसहित मदिर उत्पादन गर्न आवश्यक पर्ने सबै भाँडा वर्तनसमेत नियन्त्रणमा दिएको छ ।
बरामद भएका मदिरा र सबै कच्चा पदार्थलाई प्रहरीले पोखरा-८ का वडासदस्य गोविन्द बरालको रोहबरमा नष्ट गरेको छ ।
प्रहरी निरीक्षक पोखरेलले अवैध मदिरा नियन्त्रण र नष्ट गर्ने अभियानअन्तर्गत नै सो कार्य गरिएको बताए ।
वडासदस्य बरालले अवैध काम गर्ने जो कोही पनि कार्वाहीको दायरामा आउनुपर्ने बताए ।
तस्बिर









