पोखरा । पोखरामा जारी १३औँ पोखरा महोत्सवमा आज चर्चित र्यापर भिटेन आउने भएका छन् । आज साँझको लाइभ कन्सर्टमा भिटेनको प्रस्तुति रहने कलाकार व्यवस्थापन समिति संयोजक गणेश तिमिल्सिनाले जानकारी दिए ।
साथै आज दिउँसो गायिका शान्तारानी परियार आउने भएकी छन् । शान्ताको साथमा प्रजापति पराजुली, चालेन्द्र पौडेल, राजन कार्की, तुलसा क्षेत्री, शिवहरि ढुंगाना, माया गुरुङ, बत्ती थापा मगरलगायतले पनि आआफ्ना प्रस्तुति राखेर दर्शकलाई मनोरञ्जन दिनेछन् ।
यता, विद्यालय स्तरीय सामुहिक लोकनृत्य प्रतियोगितामा बेसलाइन एकेडेमी फाइनल प्रवेश गरेको छ ।
प्रचारप्रसार संयोजक दिनेश सुनारका अनुसार महोत्सवमा दर्शक बढ्दै गएका छन् । साथै कारोबारसमेत बढ्दै गएको छ ।
महोत्सवमा घरायसी सामग्री, कृषि र जाडो यामका लत्ताकपडा किन्नेको भिड लागेको छ ।
आज शनिबार परेकाले दर्शकले महोत्सवस्थल भरिभराउ हुने आयोजक युनाइटेड क्लबको आकलन छ ।






