पोखरा । पोखरामा जारी १४औँ अन्तर्राष्ट्रिय भेट्रान्स एट ए साइड फुटबल प्रतियोगितामा आज सेमिफाइनलका खेल हुने भएको छ ।
फाइनल प्रवेशका लागि आज पहिलो सेमिफाइनलमा जोरपाटी र गार्डेन एफसी तथा दोस्रो सेमिफाइनलमा ब्रदरहुड काठमाडौं र झम्सीखेल ललितपुरबीच खेल हुनेछ ।
बिहीबार भएको क्वाटरफाइनलमा जोरपाटी काठमाडौंले ताकामी काठमाडौंलाई २-० गोल अन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो ।
यस्तै ब्रदरहुड काठमाडौंले नागसोती हेटौंडालाई ३-० गोल अन्तरले पराजित गरी समिफाइनल प्रवेश गरेको हो ।
बगर भाइखलकको आयोजनामा ‘स्वास्थ्यका लागि एक घण्टा व्यायाम, नागरिकका लागि नौलो आयाम’ भन्ने नारासहित पोखराको टुँडिखेलमा प्रतियोगिता जारी छ ।
प्रतियोगिता ४० वर्ष उमेर समूहमा विजेताले दुई लाख, उपविजेताले एक लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
यस्तै सर्वोकृष्ट खेलाडीले १५ हजार रुपैयाँ नगद, उत्कष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फवार्ड र प्रशिक्षकले पाँच हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।
यस्तै ५० वर्ष उमेर समूहतर्फ विजेताले एक लाख र उपविजेताले ५० हजार नगदसहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
साथै ६० वर्ष उमेर समूहतर्फको विजेताले ५० हजार र उपविजेताले ३० हजार नगदसहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगितामा भारतको देहरादून, काठमाडौं, ललितपुर, चितवन, सिरहा, हेटौंडा, सर्लाही, बुटवल, सिमरा, कैलाली, झापा, बिर्तामोड र पोखराका स्थानीय टिम सहभागी छ ।






