पोखरा । नेकपा माओवादी केन्द्रको गण्डकी प्रदेश इञ्चार्जमा पार्टी सचिव दीनानाथ शर्मा तोकिएका छन् ।
पार्टीको पदाधिकारी बैठकले पूर्व शिक्षामन्त्री नेता शर्मालाई गण्डकीको इञ्चार्जको जिम्मेवारी तोकेको हो । यसअघि गण्डकी इञ्चार्जको जिम्मेवारीमा देवेन्द्र पौडेलल थिए ।
बैठकले कोशी प्रदेश इञ्चार्जमा उपमहासचिव हरिबोल गजुरेल, मधेशमा उपमहासचिव मातृका यादव, बागमतीमा सचिव हितमान शाक्य, लुम्बिनीमा सचिव चक्रपाणि खनाल, कर्णाली प्रदेशमा स्थायी कमिटी कालीबहादुर मल्ल र सुदूरपश्चिममा उपमहासचिव गिरिराजमणि पोखरेल तोकिएका छन् ।
यस्तै, विशेष प्रदेश इन्चार्जमा जयपुरी घर्ती, सार्क प्रवासमा लक्ष्मण पन्त, यूरोप अमेरिका इन्चार्जमा राम कार्की र एसियामा ओम शर्मा तोकिएका छन् ।
महासचिवभन्दा माथिका पदाधिकारीलाई भूगोलको जिम्मेवारी नदिने नीतिअनुसार कार्यविभाजन गरिएको पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए ।
यसअघि उपाध्यक्ष सापकोटा बागमती र युरोप अमेरिका प्रवास इन्चार्ज पम्फा भुसाल थिइन् । मधेश प्रदेशको इन्चार्ज रहेका लिलामणि पोखरेललाई हटाएर मात्रिका यादवलाई जिम्मेवारी दिइएको हो ।






