पोखरा । पश्चिमी न्यून चापीय प्रणालीका कारण शनिबारदेखि नै पोखरासहित देशभर मौसममा बदली आएकाले चिसो बढेको छ । मौसम बदली भए पनि यो कमजोर प्राणाली विकसित भएकाले पश्चिम क्षेत्रका केही ठाउँमा छिटपुट वर्षा भएको तर ठूलो पानी नपार्ने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाकी वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरका अनुसार विगतमा पनि यसैगरी प्रणाली विकास हुँदा पानी पर्ने गरेको थियो । अहिलेको प्रणाली पनि त्यसैको निरन्तरता भएको उनले जनाइन् ।
पश्चिम क्षेत्रमा हल्का छिटपुट वर्षा भएको, देशैभर धुम्म बादल लागेको छ । यो हिउँदमा विभिन्न प्रणाली आए पनि वर्षा गराउने प्रणाली भने नआएको उनको भनाइ छ ।
विगतमा वर्षा कम गराउने आकलनअनुसार नै यसपालि वर्षा कम भएको जानकारी दिँदै उनले अझै पनि सुक्खा बढाउने बताइन् । उनका अनुसार वर्षा गराउने प्रणाली भने कमजोर छ ।
मौसम बदली भएसँगै पुनः चिसो महसुस गरिएको छ । पोखरामा पनि बिहान-बेलुका चिसो कायम छ । हिउँदको बीचमा एकपटक तापक्रम ह्वात्तै बढेको र फेरि घटेको थियो । यो वर्ष तापक्रममा निकै घटबढ भएको मौसमविद् मानन्धरले बताइन् ।
अझै एक साता हालको जस्तै तापक्रम रहने र अर्को सातादेखि विस्तारै तापक्रम बढ्दै जाने उनले जानकारी दिइन् । जाडोयाम लागेपछि नेपालमा राम्ररी पानी पर्न सकेको छैन । जसका कारण विभिन्न क्षेत्रका बालीनालीमा असर गरेको छ ।
आजको मौसम
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । आज गण्डकी, कोशी, बागमती र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।
आज दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । साथै गण्डकी, कोशी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक,दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
आज राति भने गण्डकीसहित कोशी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।
साथै गण्डकी, कोशी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक, दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
साथै तराईका केही भूभागमा हुस्सु र कुहिरो लाग्ने हुनाले यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट समेत बच्न आवश्यक उपाय तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
पोखरामा आज
पोखरामा आज बिहान ९ बजेको तापक्रम १४ डिग्री सेल्सियस छ । आज पानी पर्ने सम्भावना नभए पनि सापेक्षित आद्रता ६२ प्रतिशत छ । आज अधिकतम् तापक्रम २१ डिग्री सेल्सियस पुग्ने अनुमान गरिएको छ । पोखराको आकाशमा आंशिक बादल लाग्ने बताइन्छ ।






