पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले दुई थान भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कास्की माछापुच्छ्रे गाउँपालिका वडा नं ८ का ५९ वर्षीय मानबहादुर विक छन् ।
कास्की प्रहरीका सूचना अधिकारी डीएसपी वसन्तकुमार शर्माका अनुसार हातहतियार तथा खरखजाना लुकाईछिपाई राखेको भन्ने सूचनाका आधारमा वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले उनलाई यही फागुन १० गते पक्राउ गरेको हो ।
उनको घर खानतलासी गर्दा एकनाले भरुवा बन्दुक दुई थान र सोही बन्दुकमा लाग्ने बारुदसमेत बरामद भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका विकविरुद्ध कास्की जिल्ला अदालतबाट हातहतियार तथा खरखजनासम्बन्धी मुद्दामा पाँच दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।






