पोखरा । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देश र नागरिक समृद्धि भएमात्र विकास निर्माणले द्रूत गति लिने दावी गरेका छन् । नेपाल लोकतान्त्रिक उद्योग वाणिज्य संघ गण्डकी प्रदेशको तेस्रो स्थापना दिवसमा महामन्त्री थापाले यस्तो बताएका हुन् ।
उनले पुँजीवादी अर्थव्यवस्थाबाट नै मुलुक समृद्ध हुने स्पष्ट पारे । नेपाली कांग्रेसले देशको अर्थतन्त्रलाई बलियो बनाउन चाहेको भन्दै महामन्त्री थापाले सरकारले निजी क्षेत्रलाई सँगसँगै लिएर अघि बढ्न सक्यो भने मात्र देशको अर्थतन्त्रमा सुधार ल्याउन सक्ने बताए ।
अर्थतन्त्र बलियो नभएसम्म सरकारले कुनै पनि विकास निर्माणका कार्यलाई गति दिन नसक्ने भनाइ उनको छ ।
उनले लामो समयदेखि कानून बन्न नसक्दा सरकारले अध्यादेश ल्याएको भन्दै नेपाली कांग्रेसले आफूले गरेका कामको बारेमा जनतामा प्रचार गर्न नसक्दा पछि परेको बताए ।
महामन्त्री थापाले बीपीको पालादेखि नै विर्ता उन्मूलनका काम र हरेक नागरिक समृद्ध हुनुपर्छ भन्ने नीति ल्याइएको उल्लेख गरे । नेपाल प्राकृतिक रुपमा अत्यन्तै धनी भएकाले पर्यटनसम्बन्धी स्पष्ट नीति जरुरी भएको उनको भनाइ थियो ।
नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले स्वतन्त्र रुपमा उद्योग व्यवसाय सञ्चालनको वातावरण बनाउन आवश्यक रहेको बताए ।
राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा विश्व पौडेलले मौद्रिक तथा वित्तीय नीति सन्दर्भ, अर्थविद् तथा व्यवसायी अरुणकुमार सुवेदीले पूर्वाधारः शिक्षा, स्वास्थ्य पर्यटन सन्दर्भ र नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले निजीक्षेत्र सन्दर्भका विषयमा आधारपत्र प्रस्तुत गरेका थिए ।






