पोखरा । हिमालय एयरलायन्सले पोखरा-लासा व्यावसायिक उडानकाे तयारी गरेसँगै चीनको सिचुवान एयरलाइन्सले पोखरा-छेन्दु व्यावसायिक उडान गर्ने भएको छ ।
सिचुवानले आगामी चैत ५ गते पोखराबाट छेन्दु उठान शुरु गर्ने भएको हो । पोखरा-छेन्दु सातामा एक उडान गर्ने तयारी भएको एयरलायन्सले जनाएको छ ।
सिचुवानले एक महिना अघि पोखरा-काठमाडौँ उडान भरेको थियो । डिसेम्बर ११ मा एयरलाइन्सले एक सय २६ यात्रु लिएर पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौं उडेको थियो । योसँग अब नियमित व्यावसायिक उडान गर्ने तयारी गरेको एयरलायन्सले जनाएको छ ।
सिचुआन एयरलाइन्सको नेपालका लागि आधिकारिक जनरल सेल्स एजेन्सी (जीएसए) सोसाइटी इन्टरनेशनलले अहिले हप्तामा एक उडानबाट शुरु गर्ने तयारी गरेको जनाएको छ ।
छेन्दुबाट अस्ट्रेलियालगायत विभिन्न गन्तव्यमा सिधा उडान सञ्चालन गर्ने तयारी छ । सिचुवान एयरलाइन्सले पोखरा विमानस्थलबाट बेलाबेलामा चार्टर उडान गर्दै आएको छ ।
पोखरा विमानस्थलबाट पूर्ण क्षमतामा न्यारोबडी विमान उडेको यो पहिलो पटक हो । अहिले पोखराका पर्यटन व्यवसायी र छेन्दुका पर्यटन व्यवसायी पहिलो उडानका लागि लागेका छन् । पोखरामा पोखरा पर्यटन परिषद्ले चैत ५ गते पोखराबाट छेन्दु जाने पर्यटकका लागि प्याकेज समेत बताएको छ ।






