पोखरा । इलाका प्रहरी कार्यालय शिशुवाको आयोजना र लेखनाथ सामुदायिक सेवा केन्द्र शिशुवाको सहकार्यमा पीडित-सम्पर्क कार्यक्रम एवं घर–घरमा नेपाल प्रहरी कार्यक्रम शुभराम्भ गरिएको छ ।
कार्यक्रम उद्घाटन गर्दै जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्यामबाबु ओलियाले समाजमा शान्ति सुरक्षा कायम गर्न नेपाल प्रहरी एक्लैले मात्र सम्भव नहुने बताए ।
उनले समुदायको सहयोग, सुझाव तथा सूचना भएमा मात्र अपराध नियन्त्रण, अनुसन्धान र कारवाही गर्न सहज हुने स्पष्ट पारे ।
उनले भने, ‘सामुदायिक प्रहरी साँझेदारी कार्यक्रमअन्तर्गत सुरु गरिएको यो अभियानले प्रहरी र नागरिक बिचको सम्बन्ध बलियो बनाउने लक्ष्य छ ।’
शान्ति सुरक्षा तथा प्रहरीसँग सम्बन्धित गुनासो, समस्या तथा सूचना भएका दिन उनले नागरिकलाई आग्रह गरे ।
एपी ओलियाले आफ्नो योजना अनुसार जनताको घरघरमा प्रहरी र पीडित सम्पर्क कार्यक्रम अघि बढाइएको बताए । यस प्रकारको कार्यक्रम वडा प्रहरी कार्यालय बैदामले शुरु गरिसकेको छ ।
एसपी ओलियाका अनुसार पीडित सम्पर्क कार्यक्रम यसअघि मुद्दा चलेर कास्की प्रहरीको हिरासतमा रहेर रिहा भएकासँग भेटघाट गर्ने, उनीहरुका अवस्था बुझ्ने र उनीहरुका गुनासा सुन्ने कार्यक्रम हो ।
यसले प्रहरीको काम कार्वाही कत्तिको प्रभावकारी भयो र पीडितको जीवनका कस्तो परिवर्तन ल्यायो भन्ने विषय स्पष्टसँग बुझाउने उनको विश्वास छ ।
इलाका प्रहरी कार्यालय शिशुवाका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) श्रवणकुमार विकले स्थानीय स्तरमा प्रत्येक घरघरमा नेपाल प्रहरी पुगी सेवाग्राहीका समस्या, शान्ति सुरक्षाको अवस्था तथा प्रहरीप्रतिको धारणा बुझ्नुका साथै गुनासाका लागि क्यूआर कोड, प्रहरीको सम्पर्क नम्बरसहितको स्टिकर टाँस गर्ने कार्यक्रम रहेको जानकारी दिए ।
कार्यक्रममा पोखरा महनगरपालिका वडा नं. २९ का वडाध्यक्ष श्रीप्रसाद गुरुङ, वडासदस्य विष्णुमाया थापा, नेपाल प्रहरी भूतपूर्व संगठन लेखनाथ इकाई अध्यक्ष कृष्णप्रसाद तिमिल्सिना, लोक तथा दोहोरी गीत प्रतिष्ठान कास्कीका पूर्वअध्यक्ष शिवहरि ढुङ्गानालगायतले बोलेका थिए ।
तस्बिर









