पोखरा । पोखराको पृथ्वीनारायण क्याम्पसमा विद्यार्थीको चुनावी रौनक ह्वात्तै बढेको छ । देशकै ठूलो क्याम्पस भएकाले पृथ्वीनारायण क्याम्पसले देशकै ध्यान तानेको छ ।
क्याम्पसमा विद्यार्थीमात्र होइन विभिन्न राजनीतिक दलका नेतासमेत दिनहुँ पुगिरहेका छन् । अझै दलका पार्टी कार्यालयबाटै विद्यार्थीलाई निर्देशन जाने गरेको छ ।
यिनै राजनीतिक गतिविधिलाई पन्छाउँदै स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा कमल सुवेदीले स्वतन्त्र उम्मेद्वारी दिएपछि झनै चर्चाको शिखरमा पृथ्वीनारायण क्याम्पस छ ।
२०७४ सालदेखि अनवरत क्याम्पसमा रहेका सुवेदी हाल स्नातकोत्तरतर्फ राजनीतिक शास्त्र र स्नातकतर्फ कानूनका विद्यार्थी हुन् । उनी निरन्तर विद्यार्थीका समस्या समाधानका लागि लड्दै आइरहेका छन् ।
डिजिटल प्रशासन, डिजिटल शिक्षा र दलका भातृ संगठन विहीन क्याम्पस निर्माणलाई उनले मुख्य मुद्दा बनाएका छन् ।
साथै सीपमूलक, व्यावसायिक र अनुसन्धानमूलक शिक्षा बनाउन, क्याम्पसमा हुने दलीय राजनीति, हस्तक्षेप र भागबण्डाको अन्त्य गरी मेरिटोक्रेसी लागू गर्न, नवचार, नैतिकता, नवप्रवर्तनसहितको शिक्षाका लागि आफू स्ववियु चुनावमा होमिएको उनले उल्लेख गरे ।
शिक्षा क्षेत्रका विकृति, विसंगति, अस्तव्यस्तता र अन्यौलता हटाउन, भलिबल, फुटबल, क्रिकेट र बास्केटबललगायत सम्पूर्ण खेल प्रेमीका लागि खेलकुद एकेडेमी स्थापना, आर्थिक, असहाय, विपन्न र दूरदराजबाट आउने विद्यार्थीका लागि सुविधा सम्पन्न अपांगमैत्री छात्र/छात्रावास निर्माण गर्न र क्याम्पसलाई शैक्षिक थलो साथसाथै नवीनता र अनुसन्धानको हब बनाउन आफूले प्रयास गर्ने सुवेदीको प्रतिवद्धता छ ।
सुवेदीले क्याम्पसलाई राजनीतिक क्रिडास्थल बनाउन खोजिएकाले त्यसलाई चिर्न आफू चुनावी मैदानमा उत्रिएको बताएका छन् । क्याम्पसमा मेरोटोक्रेसी लागू गर्नुपर्ने उनको जोड छ ।
उनले क्याम्पसलाई नितान्त एकेडेमिक बनाउनुपर्नेमा जोड दिए । पर्वत निवासी सुवेदी क्याम्पसभित्र परिचित र जोशिलो युवाका रुपमा परिचित छन् । दलीय संगठन नरुचाउने विद्यार्थीको संख्या निकै धेरै रहेकाले आफूले सहजै चुनाव जित्ने सुवेदीको आकलन छ ।






