पोखरा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच रुस र युक्रेनबीच चलिरहेको युद्ध रोक्ने विषयमा कुराकानी हुने भएको छ । कुराकानी मंगलबार हुने बताइएको छ ।
ट्रम्प र पुटिनबीचको यो वार्तालाई निकै महत्वका साथ हेरिएको छ । रुसी राष्ट्रपति पुटिनले अमेरिकी राजदूत स्टिभ विटकफसँग भेट गरेपछि ट्रम्प र पुटिनवीच कुराकानी हुर्ने तय भएको हो । अमेरिकाले युक्रेनसँग ३० दिनको युद्धविरामका प्रस्ताव गरेको छ । यही विषयमा ट्रम्प र पुटिनबीच छलफल हुन लागेको हो ।
यसअघि, पुटिनले सिद्धान्ततः युद्धविरामको समर्थन गर्ने तर युद्धविराम दीर्घकालीन समाधान उन्मुख हुनुपर्ने बताएका थिए ।
युक्रेनले पहिले नै युद्धविराम प्रस्तावलाई समर्थन गरिसकेको छ । यद्यपि, युक्रेनी अधिकारीले सार्वजनिक रूपमा मस्को त्यस्तो सम्झौतामा प्रतिबद्ध हुन्छ या हुदैन भन्ने बारेमा शंका गरेका छन् ।
बेलायती प्रधानमन्त्री केयर स्टारमरले आयोजना गरेको पश्चिमी सहयोगी बीचको अनलाइन वार्तापछि कीभमा पत्रकारसँग कुरा गर्दै राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले दीर्घकालीन शान्ति योजनाको बारेमा छलफल गर्न ३० दिने पूर्ण युद्धविरामको प्रस्तावलाई समर्थन जनाएका छन् ।
यता युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले एन्ड्री ह्नाटोभलाई युक्रेनी सशस्त्र बलको नयाँ प्रमुख जनरल स्टाफ नियुक्त गरेका छन् । यो कदम यस्तो समयमा आएको हो जब युक्रेनले कुस्र्क क्षेत्रमा रूसको पकड र डोनेट्स्कमा बढ्दो दबाबको सामना गर्न आफ्नो सेनालाई पुनर्गठन र बलियो बनाउने प्रयास गरिरहेको छ ।






