पोखरा । कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) को आर्थिक सहयोगमा पाेखरामा कोशेली घर बन्ने भएको छ।
पोखरामा सञ्चालन हुने रिसाइक्लिङ र अपसाइक्लिङमार्फत हरित रोजगारी सिर्जना परियोजनाअन्तर्गत कोशेली घर निर्माण गर्न लागिएको हाे ।
कोशेली घर पोखरा महानगर प्रमुख धनराज आचार्य, उपप्रमुख मञ्जुदेवी गुरुङ, कोइका नेपालका कन्ट्री डाइरेक्टर मोहेन कोङ, युएनडीपीका एशिया क्षेत्रीय निर्देशक क्रिस्टोफर बहाइटले संयुक्तरूपमा नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा शिलान्यास गरे ।
नगर प्रमुख आचार्यले हरित रोजगारी सिर्जनासँगै चक्रीय अर्थतन्त्रको निर्माणमा यसले महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरे । फोहोरमैलाको व्यवस्थापन निकै चुनौतीपूर्ण भइरहेका बेला यसलाई मोहोरमा बदल्ने गरी महानगर क्षेत्रका एक सय ३६ वटा समूहमार्फत पुनः प्रयोगमा आउने सामग्री निर्माण गरी आर्थिक रूपमा सामुदायिक सशक्तीकरण समेत हुने उनको विश्वास छ ।
‘विभिन्न चरणमा हामीले पोखरा महानगरका एक सय ३६ वटा सामुदायिक समूह निर्माण गरी आवश्यक तालिम तथा प्राविधिक दक्षता अभिवृद्धिको कार्यक्रम गरिसकेका छौँ’, उनले भने ।
उनले थपे, ‘यसले सामुदायिक स्तरमा रोजगारी सिर्जना र चक्रीय आर्थिक प्रणालीमा जोडिने अवसरसमेत प्रदान गर्नेछ ।’
विदेश पलायन भइरहेको युवा शक्ति र गृहिणी महिलाका लागि समेत हरित रोजगारी सिर्जना महत्वपूर्ण रहेको उनले बताए ।
‘यस परियोजनाले युवालाई रोजगारीसँग जोड्ने छ भने फोहोरबाट मोहोर पनि आर्जन हुनेछ’, नगर प्रमुख आचार्य भने ।
परियोजनाको पहिलो चरणमा तीन हजार बढी प्रत्यक्ष/अप्रत्यक्ष रोजगारी सृजना हुने उनले बताए ।
कोइका नेपालका कन्ट्री डाइरेक्टर मोहेन कोङले पोखरा महानगरपालिका र कोइका बीचको सहकार्य तथा समझ्दारीलाई बलियो बनाउँदै यस परियोजनाले नयाँ उचाइ प्रदान गर्ने विश्वास व्यक्त गरे ।
नेपालको पर्यटन राजधानी पोखरामा रिसाईकल र अपसाइकलमार्फत हरित रोजगारी सृजनाको नमुनाका रूपमा विकास गर्न यो परियोजना कोशेढुंगा साबित हुने कोङ्ले उल्लेख गरे ।
ग्रीन जब क्रियशन संसारमा निकै प्रभावकारी परियोजनाका रूपमा अघि आएको उनले बताए ।
संयुक्त राष्ट्रिय विकास कार्यक्रम (युएनडीपी) का एशिया क्षेत्रीय निर्देशक क्रिस्टोफर बहाइटले हरित अर्थतन्त्रमा योगदान पुर्याउने दिगो रिसाइकल र अप-साइकल (आरयू) उद्यमलाई बढवा दिन यो परियोजना प्रभावकारी हुने बताए ।
उनका अनुसार यसले आरयू उद्यमको क्षमता निर्माण गरी हरित रोजगारी सिर्जना गर्न सहयोग गर्नेछ ।
परियोजनामार्फत ग्रीन भेन्चर जोन (जीभीजेड) स्थापना गरी नयाँ तथा आरयू उद्यमलाई व्यवसाय इन्क्युबेशन सहायता (वित्तीय, प्राविधिक र बजार) प्रदान गरिने उनले बताए ।
पोखरा महानगरकी उपप्रमुख मन्जुदेवी गुरुङले स्वच्छ पोखरा, हरित पोखरा निर्माणसँगै हरित रोजगारी सृजनामा समेत यो परियोजनाले उल्लेखनीय भूमिका खेल्ने विश्वास व्यक्त गरिन् ।
कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले पर्यटन राजधानी पोखराका लागि परियोजना रोजगारी सिर्जनाको नयाँ प्रयोगका रूपमा प्रभावकारी हुने बताए ।
पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोकर्ण कार्कीले यो परियोजना पोखराका लागि रोजगारी सृजना, सिकाई प्रवद्र्धन र उत्पादनका हिसाबले महत्वपूर्ण हुने बताए ।
परियोजनामा कोइकाले ९दशमलव८ मिलियन अमेरिकी डलर र युएनडिपीले ०दशमलव८७ मिलियन अमेरिकी डलर लगानी गर्नेछन् ।
एक वर्ष छ महिनामा निर्माण सम्पन्न गर्ने गरी कोशेली घर निर्माणको ठेक्का इन्टरनेश्नल इन्जिनियरिङ एन्ड कन्स्ट्रक्सन कम्पनी अनामनगर काठमाडौँले पाएको छ ।
परियोजनाले नकुहिने फोहोर प्रशोधनसहित फोहोरबाट नयाँ चिज उत्पादन गर्नेछ । यसलाई सिकाई केन्द्रका रूपमा विकास गरिने र पोखराका लागि एक पर्यटन गन्तव्यका रूपमा समेत यो स्थापित हुने विश्वास गरिएको छ ।






