पोखरा । चीनको सिचुवान प्रान्तबाट आएका उद्योगी÷व्यवसायी तथा पोखरा उद्योग वाणिज्य संघका पदाधिकारीबीच व्यावसायिक सहकार्यको सहमति जुटेको छ ।
पोखरा भ्रमणमा रहेको प्रतिनिधिमण्डलसँगको छलफलपछि सो सहमति जुटेको संघका अध्यक्ष गोकर्ण कार्कीले जानकारी दिए । सिचुवान चीनको छैटौं ठूलो अर्थतन्त्र भएको प्रान्त हो ।
मदिरा, बाँसका उत्पादनका निम्ति यो प्रान्त प्रसिद्ध छ । यसका अलावा पछिल्लो समय यो प्रान्तले विद्युतीय गाडी र सामग्री उत्पादन पनि उत्तिकै बढाएको छ ।
चिनियाँ प्रतिनिधिमण्डलमा विदेशबाट सिचुवान फर्किएकाहरुको संगठन (सिचुवान प्रोभिन्सीयल रिटन्र्ड ओभरसिज चाइनीज फेडरेसन) का महासचिव सु यान्माइ, सोही संस्थाका अधिकृत जी जुन्चेङ,लुजुका अध्यक्ष जियाङ याङ्कीयाङ,महासचिव उ जोङ, वाइन निर्माता लुजु लाजियो ग्रुप अफ कम्पनीका उपाध्यक्ष यायो सिन्जियान र लुजु लाजियो ग्रुप अफ इन्भेष्टभेण्टका अध्यक्ष वाङ गङ थिए ।
उक्त अवसरमा संघका अध्यक्ष गोकर्ण कार्कीले विश्वका दुई ठूला जनसंख्या भएका भारत र चीनजस्ता दुई देशको व्यापारिक सम्बन्ध विस्तारका निम्ति पुलको काम गर्न आफूहरु तयार रहेको बताए ।
उनले नेपाल र चीनबीच भएका सम्झौता अनुरुप जडिबुटी, भैंसीको मासु, माछा र अमिला फलफूल, हस्तकलाका सामग्री निर्यात गर्न नेपाली व्यवसायी तत्पर रहेको पनि बताए ।
उनले पोखराको पूर्वाधार निर्माणमा चीन सरकारको सहयोगप्रति आभार प्रकट गर्दै चीन सरकारले चालु अंग्रेजी वर्षलाई नेपाल भ्रमण वर्षको रुपमा मनाउने घोषणाको पनि मुक्तकष्ठले प्रशंसा गरे ।
‘पोखराको पर्यटनसहित अन्य उद्योगहरुमा लगानी बढाउन, हामीसँग सहकार्य गर्न पनि यहाँहरुलाई आह्वान गर्दछौँ,’ उनले भने, ‘नेपाल लगानीको लागि उपयुक्त र छिटो नाफा आर्जन गर्न सकिने देश भएको पनि हामी यहाँहरुलाई विश्वास दिलाउन चाहन्छौँ, म यहाँहरुलाई मिलेर उद्योग÷व्यवसाय गर्न र सँगै हिँड्न आग्रह गर्दछु ।’
सिचुवान प्रोभिन्सीयल रिटन्र्ड ओभरसिज चाइनीज फेडरेसनका महासचिव सु यान्माइले सिचुवानको राजधानी छेन्दुबाट पोखराको सिधा उडानले पोखराको प्रवर्द्धन हुने विश्वास व्यक्त गरिन् । उनले पोखरा सुन्दर रहेको बताउँदै सिधा उडानका निम्ति गरिएका प्रयासहरुको पनि स्मरण गरिन् ।
‘दक्षिण एशिया विश्वकै ठूलो बजार हो, हामी त्यो बजार चाहन्छौँ, नेपाल र पोखरामा कस्ता उद्योगमा लगानी गर्न सकिन्छ, यहाँ के सामग्री पठाउन सकिन्छ भन्नेबारे हामी यहाँहरुसँग सहकार्य गर्छौँ,’ उनले भनिन्,पोखरा-छिन्दु सिधा उडानले अन्य देशका पर्यटनहरु पोखरा हुँदै चीन पुग्ने बाटो खुलेको छ । हामी पर्यटन क्षेत्रमा पनि सहकार्य गर्नेछौँ ।’
कार्यक्रममा पोखरा पर्यटन परिषद्का निवर्तमान अध्यक्ष पोमनारायण श्रेष्ठसहित पोउवासंघका उपाध्यक्षद्वय दिनेश बास्तोला, बलराम आचार्य, महासचिव शोभा गौतम, कोषाध्यक्ष मनोजकुमार श्रेष्ठ, उपमहासचिव सुदीप प्रधानाङ्गलगायत सहभागी थिए ।






