पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल, सुखी नेपालीको सपनालाई साकार पार्न नदिनेहरु सरकारबिरुद्ध लागिपरेको बताएका छन् ।
मंगलवार ललितपुरमा प्रगतिशील इन्जिनियरिङ एशोसिएशनको राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।
उनले आफूहरु समृद्ध नेपाल, सुखी नेपालीको सपनालाई साकार पार्ने संकल्पका साथ अघि बढिरहेको भए पनि विरोधीहरु सपना साकार पार्न नदिन लागिपरेको आरोप लगाए ।
प्रधानमन्त्रीले वैधानिक प्रतिपक्ष, संवैधानिक प्रतिपक्षको भूमिका यथार्थपरक र रचनात्मक हुनुपर्ने भए पनि त्यसो नभइरहेको बताए ।
उनले प्रतिपक्ष कसरी आफू बच्ने र सरकार र अरुलाई बद्नाम गर्ने भन्नेमा लागेको बताए । यस्ता कुरामा अल्मलिने समय आफूलाई नभएको प्रधानमन्त्रीले बताए ।
उनले देश विकासका लागि तय गरिएका नीतिहरु कसरी प्रभावकारी र छिटो कार्यान्वयन गर्ने भन्ने कुरामा आफ्नो ध्यान रहने बताए ।
प्रधानमन्त्री ओलीले भने, ‘हामीले समृद्ध नेपाल, सुखी नेपालीको सपनालाई साकार पार्ने संकल्प बोकेका छौँ । केही मानिसहरु यस कुरालाई सफल पार्न नदिनका लागि लागेका छन् । त्यो स्वभाविक पनि हो । बिरोधीहरु लाग्छन् । यद्यपि वैधानिक प्रतिपक्ष, संवैधानिक प्रतिपक्षको भुमिका यथार्थपरक र रचनात्मक हुनुपर्ने हो । तर त्यस्तो भइरहेको छैन ।’
‘कसरी सरकार वा आफू बाहेक अरुलाई कसरी बद्नाम गर्न सकिन्छ, कसरी सत्यलाई ढाक्न, झुटलाई फैल्याउन सकिन्छ, यस्ता कुरामा उहाँहरु बहुतै सक्रिय देखिनुहुन्छ, त्यस्ता कुरामा म धेरै अल्मलिन चाहन्न’, उनले भने ।
उनले थपे, ‘हामीले देशको विकास गर्नुपर्नेछ, अनावश्यक कुरामा हामीलाई अल्मल्याउन खोज्छन्, अल्झाउन खोज्छन्, हाम्रो ध्यान डाइभर्ट गर्न खोज्छन्, त्यो हुन हामी तयार छैनौँ, हामी आफ्ना विषयमा, आफ्ना काममा केन्द्रित हुन्छौँ र आफ्ना देश विकासका लागि तय गरिएका नीतिहरु कसरी प्रभावकारी र छिटो कार्यान्वयन गर्ने भन्नेकुरामा हाम्रो ध्यान छ ।’
प्रधानमन्त्रीले ०४६ सालको परिवर्तनपछि देश तिब्र गतिमा अघि बढिरहेको बताए । उनले विकासका लागि पहिला पूर्वाधार आवश्यक रहेको र पूर्वाधार नगरी विकास गर्न नसकिने बताए ।
भिडियाे
![विरोधीहरु सपना साकार पार्न नदिन लागिपरे : प्रधानमन्त्री [भिडियोसहित]](https://nitipress.com/wp-content/uploads/2025/03/kp-oli-pm-750x375.jpg)
![स्तन, पाठेघर तथा सर्भाइकल क्यान्सर स्क्रिनिङ्ग कार्यक्रम स्थानीय तहसँग जोड्न आवश्यकः स्वास्थ्यमन्त्री पौडेल [भिडियाेसिहत]](https://nitipress.com/wp-content/uploads/2025/03/pradip-poudel-minister-75x75.jpg)




