पोखरा । खाद्य शुद्धतालाई दृष्टिगत गर्दै पोखरामा अर्गानिक फुड बैंक सञ्चालनमा ल्याइएको छ । दीपक जोशी दम्पतीले अर्गानिक फुड बैंक सञ्चालनमा ल्याएका हुन् ।
पोखरा महानगरपालिका वडा नं १२ भृकुटीटोलमा सञ्चालनमा आएको फुड बैंकको एक समारोहका बीच आरके हस्पिटालिटी ह्युमन रिसोर्स म्यानेजमेन्टका सञ्चालक बरिष्ठ सेफ आरके लामाले शुभारम्भ गरे ।
कार्यकममा बरिष्ठ सेफ लामाले विषादीयुक्त अशुद्ध खाद्यान्नका कारण मानवीय स्वास्थ्यमा नै गम्भीर असर पारिहेका अवस्थामा शुद्ध अर्गानिक उत्पादनलाई उपभोक्तामाँझ पुर्याउने लक्ष्यका साथ सञ्चालनमा ल्याइएको अर्गानिक फुड बैंकको व्यवसायिक सफलताको शुभकामना व्यक्त गरे ।
बढ्दो युवा विदेश पलायन भैरहेका अवस्थामा यहीँ नै केही गर्नुपर्छ भन्ने उद्देश्यका साथ गरिएको कार्यको प्रशंसा व्यक्त गर्दै उनले मानवीय स्वास्थ्य रक्षाका लागि पनि यो अभियानले महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
अर्गानिक फुड बैंकका सञ्चालक दीपक जोशीले आँफूहरूले सिधै किसानबाट सामान खरिद गरी उपभोक्ता माँझ पुर्याउने लक्ष्य राखिएको बताए ।
“किसानले आँफूले उत्पादन गरेको समाग्रीको उचित मूल्य पाउनुका साथै उपभोक्ताले शुद्ध खाद्यान्न पाउन सकुन् भन्ने नै हाम्रो उद्देश्य हो”, उनले भने ।
झण्डै एक सय भन्दा बढी शुद्ध खाद्यान्न सामग्री एकैठाउँबाट उपभोक्ताले खरिद गर्न सक्ने अर्गानिक फुड बैंकले जनाएको छ ।
फुड बैंकमा मुस्ताङको आलु, खोटाङको सक्खर, बेनी तथा लम्जुङको बेसार, बेनीको तोरीको तेल, पोखराको जेठोबुढो, काठमाडौंको टाइचिन लगातयका सामाग्री उपभोक्तामाझ पुर्याउने लक्ष्य राखिएको छ ।
उपभोक्ताले पाल्पा, मुुस्ताङ, जुम्ला, हुम्ला, बैतडी, दार्चुला, खोटाङ, बाग्लुङ, म्याग्दी, पर्वत, कास्कीका लहाचोक, घाचोक, भलामलगायत स्थानबाट सिधै किसानबाट खरिद गरिएका सामग्री प्राप्त गर्न सक्ने व्यवस्था मिलाइएको छ ।
हाल भृकुटी टोलबाट सामानको बिक्री वितरण हुने भए पनि केही समयपछि पोखराको चिप्लेढुङ्गामा बिक्री केन्द्र सञ्चालनमा ल्याउने योजना रहेको जनाइएको छ ।
सञ्चालक जोशीको अध्यक्षता एवं श्वेता भट्टराईले सञ्चालन गरेको कार्यक्रममा राजेश खरेल, वासुदेव पौडेललगायतले शुद्ध खाद्यान्न उपभोक्ता माँझ पुर्याउने विषय मानवीय स्वास्थ्य रक्षाका लागि पनि महत्वपूर्ण बन्ने विश्वास व्यक्त गरेका थिए ।






