पोखरा । पोखरा महानगरपालिका वडा नं. ७ बुलौदीस्थित पुष्पलाल स्मृति पार्कको तल्लोपट्टिको पर्खालमा आकर्षक वाल पेन्टिङ अनावरण गरिएको छ।
नेपाल कमर्शियल आर्टिष्ट संघ र पोखरा महानगरपालिकाको सहकार्यमा तयार पारिएको उक्त पेन्टिङमा पोखराका प्रमुख पर्यटकीय स्थलको जीवित झलक प्रस्तुत गरिएको छ।
मजदुर दिवसको अवसर पारेर आज आयोजित एक समारोहबीच पोखरा महानगर प्रमुख धनराज आचार्यले वाल पेन्टिङको अनावरण गरे ।
उनले पोखरालाई थप आकर्षक बनाउने उद्देश्यका साथ खुला र प्रयोगविहीन स्थानमा यस्ता कलात्मक चित्र तयार पारिने जानकारी दिए ।
वाल पेन्टिङमा पोखराबाट देखिने हिमालय श्रृङ्खला, फेवाताल, प्रसिद्ध मठमन्दिरलगायतका धार्मिक तथा प्राकृतिक पर्यटकीय स्थल चित्रित गरिएको छ।
स्थानीयवासी तथा पर्यटकले उक्त चित्रकलालाई उत्साहपूर्वक स्वागत गरेका छन्। यस प्रकारका गतिविधिले पोखराको सौन्दर्य अभिवृद्धि गर्नुका साथै पर्यटन प्रवर्द्धनमा समेत टेवा पुर्याउने विश्वास लिइएको छ।






