पोखरा । पोखरामा पहिलो पटक ‘नवौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष क्लब लिग’ भलिबल प्रतियोगिता हुने भएको छ ।
राष्ट्रिय खेलकुद परिषद (राखेप) अन्तर्गतको त्रिपुरेश्वरस्थित कभर्ड हल मर्मत सम्भार हुने भएपछि नवौं सस्करणको एनभिए क्लब लिग पोखरामा हुने भएको नेपाल भलिबल संघका महासचिव रोशन श्रेष्ठले जानकारी दिए ।
महासचिव श्रेष्ठका अनुसार संघको बुधबार बसेको कार्यसम्पादन समिति बैठकले पोखरामा प्रतियोगिता आयोजना गर्ने निर्णयसमेत गरेको छ ।
प्रतियोगिता यही जेठ ८ देखि १५ गतेसम्म सञ्चालन हुने उनले बताए । प्रतियोगिताको तयारी तीव्र बनाइएको उनले बताए ।
प्रतियोगिता सम्पन्न गर्न करिब एक करोड ७० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।






