पोखरा | नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले नेपाल विकासमा पछाडि पर्नुको मुख्य कारण कार्यकारी संयन्त्र र संस्थागत संरचनाको असफलता भएको टिप्पणी गर्नुभएको छ ।
शुक्रवार काठमाडौंमा आयोजित वर्तमान राजनीतिक समस्या र समाधानसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै शर्माले यस्तो टिप्पणी गर्नुभएको हो ।
उहाँले विकास र समृद्धि मुलुकको कार्यकारी संस्थाहरूको प्रभावकारीता र कार्यान्वयन क्षमतामा निर्भर रहने भएपनि नेपालका संयन्त्रहरू क्रियाशील हुन नसकेको बताउनु भयो ।
नेपालको विकास र समृद्धिका लागि गेम चेन्जर आयोजनाको रुपमा हेरिएका कर्णालीको चिसापानी आयोजना, निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल र हुलाकी राजमार्ग दशकौंसम्म पनि सम्पन्न नहुनु देशको कार्यकारी संरचनाको असफलता भएको शर्माको भनाइ छ ।
उहाँले संस्थागत सोच, कार्यसंस्कृति र नेतृत्व क्षमताको अभावले देशलाई पछाडि पारेको उल्लेख गर्दै कार्यकारी संयन्त्रमा सुधार नगरी विकास सम्भव नहुने जिकिर गर्नुभयो ।






