पाल्पा । पाल्पामा अण्डा बोकेको बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा बगनासकाली गाउँपालिका वडा नं १ गाप्टुङ घर भई बुटवल उपमहानगरपालिका वडा नं ११ मझुवा बस्दै आएका ४६ वर्षीय विनोद ढुङ्गाना र स्याङ्जाको गल्याङ नगरपालिका वडा नं ७ घर भई हाल रूपन्देही मझुवामा बस्दै आएका ४८ वर्षीय रेशम सुनार छन् ।
दुर्घटनामा घाइते भएका विनोदलाई लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा र रेशमलाई उपचारका लागि युनाइटेड मिसन अस्पताल तानसेन ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुनिल मल्लले जानकारी दिए ।
दुर्घटनामा घाइते भएका सवारी चालक बुटवल उपमहानगरपालिका–११ का ३० वर्षीय राजु खड्काको अवस्था पनि गम्भीर छ । उनको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ ।
सोमबार बेलुका पूर्वखोला गाउँपालिका-५ वीरकोटस्थित आर्यभन्ज्याङ रामपुर कच्ची सडकखण्डमा आर्यभन्ज्याङदेखि रामपुरतर्फ जाँदै गरेको लु१च ६७५६ नम्बरको जीप सडकबाट खसेको थियो ।अण्डा लोड गरेको जीप सडकदेखि ३०० मिटर तल खसेको थियो । दुर्घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ ।






