पोखरा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले नेपालको बहु जातीय, बहुभाषिक, बहु धार्मिक र बहु सांस्कृतिक विविधता राष्ट्रको पहिचान तथा शक्तिको स्रोत भएको स्पष्ट पार्नुभएको छ ।
बिहीबार बसेको राष्ट्रिय सभा बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उहाँले यस्तो स्पष्ट पार्नुभएको हो ।
उहाँले प्रत्येक भाषा र समुदायले आफ्नै साहित्य, कला र दर्शन बोकेको उल्लेख गर्नुभयो । उहाँले विविधतालाई सशक्त रूपमा प्रवद्र्धन गर्न सकिएमा त्यसबाट देशकै हित हुने बताउनु भयो ।
मन्त्री पाण्डेले विविधतालाई सङ्गठित गर्दै गोलवद्ध गर्न सकेमा नेपालले आफ्नो मौलिक पहिचान सुरक्षित गर्न सक्ने र समावेशी राष्ट्र निर्माणमा थप बल पुग्ने धारणा राख्नुभयो ।
उहाँले विविधतालाई प्रवद्र्धन गर्न आगामी दिनमा थप प्रभावकारी कार्यक्रम बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “प्रत्येक भाषाले आफ्नै साहित्य बोकेको हुन्छ । आफ्नै दर्शन, आफ्नै कला बोकेका हुन्छ र प्रत्येक भाषामा एउटा एउटा शक्ति, एउटा एउटा पहिचान र विशेषता हुन्छ । समुदायको पनि त्यस्तै हुन्छ, जातीको पनि त्यस्तै हुन्छ । त्यो दृष्टिकोणले बहु जातीय, बहुभाषिक, बहु धार्मिक, बहु सांस्कृतिक विविधतापूर्ण नेपालमा विविधतालाई प्रवद्र्धन गर्न सकियो भने, विविधतालाई सङ्गठित गरेर गोलबद्ध गर्न सकियो भने यसबाट नै देशको विविधताको हित हुन्छ । हाम्रो आफ्नो पहिचानको हित हुन्छ भन्नेमा सरकार स्पष्ट छ । त्यसका निम्ति आगामी दिनमा थप प्रभावकारी कार्यक्रम बनाउँछौँ ।
उहाँले मातृभाषाहरूको विकास तथा भाषाहरूको संरक्षण र विकासको लागि संविधानको धारा २८७ मा भाषा आयोगको व्यवस्था गरिएको बताउनु भयो ।
उहाँले भाषा आयोगले नेपालमा रहेका भाषाहरूको खोज, अध्ययन, अनुसन्धान, संरक्षण, संवद्र्धन र विकासका कामहरू गरिरहेको जिकिर गर्नुभयो ।






