विजयादशमीको अवसरमा अत्यधिक भिडभाड हुने जनकपुरधामस्थित राजदेवी मन्दिरमा यस वर्ष पनि चोरीका घटना रोकिन सकेका छैनन् । भिडभाडकै क्रममा महिलाले लगाएका गरगहना र पर्स चोरी हुने क्रम दोहोरिएको छ ।
मन्दिरको दक्षिणतर्फको झ्यालबाट राजदेवी माताको दर्शनका लागि लाइनमा उभिएकी एक महिलाको पर्स गुपचुप चोरी भएको छ । चोरी भएको पर्समा करिब ९ हजार रुपैयाँ नगदसहित अन्य सामग्री रहेको पीडित महिलाले बताइन् ।
राजदेवी मन्दिरको व्यवस्थापन महावीर युवा कमिटी मातहतमा हुँदै आएको छ । तर, पीडित महिलाले सीसीटीभी क्यामेरा भएपनि चोर समाउने खालका दृश्य कैद नहुने र केवल पूजा अर्चनाका दृश्य मात्र देखिने व्यवस्था गरिएको भन्दै कमिटीमाथि नै प्रश्न खडा गरेकी छन् ।
यता मन्दिरमा पूजाको व्यवस्थापन गरिरहेका महाविर युवा कमिटीका अध्यक्ष दीपक कुमार साह मिन्टुले मन्दिरको चारै तीर सीसीटीभी क्यामेरा लगाइएको बताउँदै मन्दिरमा अत्यधिक भिडभाड हुने गरेकोले चोरीका घटना हुने गरेको बताए ।
उनले भिडभाड जस्तो ठाउँमा बहुमूल्य सामग्री र नगदहरूलाई आफै सुरक्षा गर्नुपर्ने बताए । यद्यपि यस विषयमा हामी निकै संवेदनशील छौ,यस्ता क्रियाकलाप गर्नेहरूलाई छिटै पक्राउ गरिने बताए ।
गत वर्ष पनि विजयादशमीका बेला मन्दिरमा आधा दर्जनभन्दा बढी महिलाका मंगलसूत्र, सुनका गरगहना र पर्स चोरी भएका थिए ।
सो घटनापछि सीसीटीभी क्यामेरा जडान गरिएको भएपनि यस वर्ष पनि चोरी रोक्न नसकिएको श्रद्धालुहरूले गुनासो गरेका छन् ।






