गण्डकी प्रदेश सरकारले ७ हजार ६१ नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा सुविधा उपलब्ध गराएको छ। प्रदेश स्वास्थ्य मन्त्रालयको अनुदानमा अपाङ्गता भएका व्यक्ति र मिर्गौला रोगीका परिवारलाई लक्षित गर्दै बीमा गरिएको हो। यसअन्तर्गत ५ हजार ९४६ अपाङ्गता भएका नागरिक र ४३१ मिर्गौला पीडितका परिवार समेटिएका छन्।
यससँगै ३८२ द्वन्द्वपीडित, २८ जना जनआन्दोलनका घाइते तथा ६३ सहिद र बेपत्ता परिवारलाई पनि निःशुल्क बीमा सुविधा दिइएको छ। कास्की जिल्लामा कार्यरत २११ पत्रकार पनि यस कार्यक्रमबाट लाभान्वित भएका छन्।
स्वास्थ्य बीमा बोर्ड गण्डकी प्रदेश कार्यालयका संयोजक जीवलाल खरेलका अनुसार, आर्थिक वर्ष २०८१/८२ मा प्रदेश स्वास्थ्य मन्त्रालयको सहयोगमा यो कार्यक्रम सञ्चालन गरिएको हो। उनले अपाङ्गता भएका नागरिकले निरन्तर रूपमा निःशुल्क स्वास्थ्य बीमा सुविधा पाइरहेको जानकारी दिए।
प्रदेशभर हाल १ लाख ६१ हजार ९३५ ज्येष्ठ नागरिक यो कार्यक्रममा आबद्ध छन्। त्यस्तै २ हजार ३११ एचआईभी संक्रमित, ५ हजार ६३० अति अशक्त अपाङ्गता भएका परिवार, ९० कुष्ठरोगी र ५७ क्षयरोग प्रभावित परिवारले पनि बीमा सुविधा लिएका छन्। साथै ४ हजार ६४२ महिला स्वास्थ्य स्वयंसेविकाका परिवार समेत यस योजनामा समेटिएका छन्।हालसम्म ४ लाख ४४ हजार ७७६ परिवार स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध भएका छन् । यो संख्या प्रदेशको कुल परिवारको ६७.०१ प्रतिशत बराबर हो । गण्डकी प्रदेशमा हालसम्म १३ लाख ५६ हजार ६९८ जनाको स्वास्थ्य बीमा गरिएको छ, जुन जनसंख्याको करिब ५५ प्रतिशत हो, संयोजक खरेलले जानकारी दिए ।
कुल बीमितमध्ये ७ लाख ३८ हजार २३२ जनाले स्वास्थ्य सेवाको उपयोग गरेका छन्, जुन ५४.०४ प्रतिशत हुन आउँछ । त्यस्तै, बीमा नवीकरण गर्ने परिवारको संख्या ३ लाख ३५ हजार ५०५ पुगेको छ, जसमा करिब ७५ प्रतिशत परिवारले नियमित रूपमा नवीकरण गरिरहेका छन् ।
प्रदेशभरका ४७ स्थानीय तहमा सूचीकृत अस्पताल तथा स्वास्थ्य सेवा प्रदायक संस्थाहरू रहेका छन् । सरकारी ५६, निजी ४ र सामुदायिक १ गरी कुल ६१ सेवा प्रदायक संस्था सूचीकृत छन् । स्वास्थ्य बीमा कार्यक्रमका लागि ७२५ दर्ता सहयोगी सक्रिय रूपमा कार्यरत रहेको पनि खरेलले बताए ।
७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक, गम्भीर प्रकृतिका दीर्घरोगी तथा अति अशक्त नागरिकहरूलाई निःशुल्क बीमाको व्यवस्था गरिएको छ । साथै, गरिब परिचयपत्र प्राप्त परिवारहरूले पनि निःशुल्क स्वास्थ्य सेवाको सुविधा पाउँदै आएका छन् ।
५ जनासम्मको परिवारले वार्षिक ३ हजार ५०० रुपैयाँ तिरेर १ लाख रुपैयाँसम्मको उपचार सुविधा प्राप्त गर्न सक्ने व्यवस्था रहेको छ । परिवारमा ५ जनाभन्दा बढी सदस्य भएमा प्रत्येक थप सदस्यका लागि ७०० रुपैयाँ अतिरिक्त शुल्क लाग्ने प्रावधान छ । यसरी ठूलो परिवारले अधिकतम २ लाख रुपैयाँसम्मको उपचार सेवा लिन सक्ने खरेलले जानकारी दिएका छन् । साथै बोर्डले निर्धारण गरेका १ हजार २८८ प्रकारका औषधि तथा शल्यक्रियासहित विभिन्न जटिल रोगहरूको उपचार पनि स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत उपलब्ध हुने जनाइएको छ ।





