१४ असार २०८३, पोखरा
तमु प्ये ल्हु संघ केन्द्रीय समितिको छैटौँ पूर्ण बैठक स्याङ्जाको बिरुवा गाउँपालिका ७ गहतेस्थित मनकामना होमस्टेमा सफलतापूर्वक सम्पन्न भएको छ। बैठकसँगै आन्तरिक पर्यटन प्रवर्द्धन गरौँ भन्ने मूल उद्देश्यका साथ मिलेनियम ट्रेक व्यवस्थापन समितिको सहकार्यमा असार १२ र १३ गते दुईदिने स्याङ्जा अवलोकन भ्रमणसमेत सम्पन्न गरिएको हो।
दुई दिनसम्म सञ्चालन भएको बैठकमा संस्थाको वर्तमान गतिविधि, संगठन सुदृढीकरण, आगामी कार्ययोजना तथा तमु समुदायको धर्म, भाषा, संस्कृति र मौलिक परम्पराको संरक्षण, संवर्द्धन एवं प्रवर्द्धनका विषयमा गहन छलफल गर्दै महत्वपूर्ण निर्णयहरू गरिएको छ।
बैठकले आगामी असोज १७ र १८ गते पोखरामा तमु प्ये ल्हु संघको सातौँ महाधिवेशन आयोजना गर्ने निर्णय गरेको छ। साथै संघअन्तर्गतका प्रदेश, जिल्ला तथा भातृ समितिहरूले आफ्नो अधिवेशन सम्पन्न गरी सांगठनिक तथा आर्थिक प्रतिवेदन आगामी भदौ मसान्तभित्र केन्द्रीय कार्यालयमा बुझाउने निर्णय गरिएको छ। संघले परम्परादेखि अवलम्बन गर्दै आएको मौलिक बोन धर्म लाई सूचीकृत गराउन सम्बन्धित निकायमा निवेदनसहित डेलिगेसन जाने निर्णयसमेत गरेको छ।
बैठकसँगै आयोजित मिलेनियम ट्रेक भ्रमणका क्रममा सहभागीहरूले वालिङ नगरपालिका ४ बस्यानी क्होइबो, बिरुवा ७ गहते मनकामना मन्दिर, सपौदी क्होइबो, मनकामना होमस्टे तथा सिम्ले देउरालीस्थित सिमी कुरिमी ङी क्होइबो लगायतका प्राकृतिक, धार्मिक तथा सांस्कृतिक सम्पदाको अवलोकन गरेका थिए। स्थानीय अर्गानिक परिकारको स्वादसँगै स्थानीय संस्कृति र जीवनशैलीको अनुभव गर्दै भ्रमण टोलीले आन्तरिक पर्यटन प्रवर्द्धनको सन्देश प्रवाह गरेको थियो।
यसैबीच, तमु प्ये ल्हु संघका केन्द्रीय अध्यक्ष ओम बहादुर थिम्जे तमुले संघको छैटौँ पूर्ण बैठकले संस्थाको भावी कार्यदिशा तय गर्न महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो। उहाँले बैठकबाट संगठन सुदृढीकरण, तमु समुदायको धर्म, भाषा, संस्कृति तथा मौलिक परम्पराको संरक्षण र प्रवर्द्धनका लागि महत्वपूर्ण निर्णयहरू भएको जानकारी दिनुभयो। अध्यक्ष तमुले मिलेनियम ट्रेक व्यवस्थापन समितिसँगको सहकार्यमा सम्पन्न स्याङ्जा अवलोकन भ्रमणले आन्तरिक पर्यटन, स्थानीय होमस्टे, संस्कृति तथा स्थानीय उत्पादनको प्रवर्द्धनमा सकारात्मक सन्देश दिएको उल्लेख गर्दै आगामी सातौँ महाधिवेशनलाई सफल बनाउन सबै प्रदेश, जिल्ला तथा भातृ समितिहरूको सक्रिय सहकार्य आवश्यक रहेको बताउनुभयो। साथै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण निकाय, स्थानीय समुदाय र सहभागीहरूप्रति उहाँले आभार व्यक्त गर्नुभयो।
भ्रमण कार्यक्रमलाई सम्बोधन गर्दै बिरुवा गाउँपालिकाका अध्यक्ष सूर्य बहादुर कुँवर ले स्थानीय पर्यटन, संस्कृति र होमस्टे प्रवर्द्धनका लागि यस्ता कार्यक्रम अत्यन्त प्रभावकारी हुने बताउनुभयो। उहाँले मिलेनियम ट्रेकलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन गन्तव्यका रूपमा विकास गर्न गाउँपालिका प्रतिबद्ध रहेको उल्लेख गर्दै स्थानीय सरकार सबै सरोकारवालासँग सहकार्य गर्न तयार रहेको बताउनुभयो।
बिरुवा गाउँपालिका ७ का वडा अध्यक्ष मेखराज गुरुङ ले गहते क्षेत्र प्राकृतिक, धार्मिक तथा सांस्कृतिक सम्पदाले भरिपूर्ण रहेको उल्लेख गर्दै तमु प्ये ल्हु संघले यहाँ कार्यक्रम आयोजना गर्नु स्थानीय समुदायका लागि गौरवको विषय भएको बताउनुभयो। उहाँले यस्ता भ्रमणले स्थानीय उत्पादन, होमस्टे र रोजगारी प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो।
मिलेनियम ट्रेक व्यवस्थापन समितिबाट महासचिव हर्क योज तमुले तमु प्ये ल्हु संघसँगको सहकार्यले मिलेनियम ट्रेकको प्रचारप्रसारमा नयाँ ऊर्जा थपिएको बताउनुभयो। उहाँले आन्तरिक पर्यटनको विकाससँगै स्थानीय संस्कृति, परम्परा र प्राकृतिक सम्पदालाई विश्वसामु चिनाउन यस्ता साझेदारीलाई निरन्तरता दिइने जानकारी दिनुभयो।
यस दुईदिने भ्रमणमा तमु प्ये ल्हु संघ केन्द्रीय समिति, गण्डकी प्रदेश समिति, जिल्ला समिति कास्की, केन्द्रीय भातृ संगठनहरू युवा, महिला, पच्यु, क्ल्हेप्री, वोनलम तथा पैडी समिति, जिल्ला महिला समिति कास्की लगायतका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। मिलेनियम ट्रेक व्यवस्थापन समितिबाट महासचिव हर्क योज तमु, कार्यवाहक सचिव बालकुमार गुरुङ, संस्थापक सदस्य खेम गुरुङ तथा विशेष निमन्त्रणामा पैयुँखोला तमु समाज पोखरा र विभिन्न सामाजिक संस्थाका प्रतिनिधिहरू सहभागी भएका थिए।
कार्यक्रमको सफल आयोजनाका लागि सहयोग पुर्याउने वालिङ ४ बस्यानी क्होइबो परिवार, बिरुवा–७ गहते मनकामना होमस्टे, सिम्ले देउराली सिमी कुरिमी ङी क्होइबो परिवार, मिलेनियम ट्रेक व्यवस्थापन समिति, सहयोगी संस्था, स्वयंसेवक, यातायात व्यवसायी तथा सम्पूर्ण सहभागीहरूप्रति तमु प्ये ल्हु संघ केन्द्रीय समितिले हार्दिक आभार व्यक्त गरेको छ।





