पोखरा, असार २१ । नीति एकेडेमी र नेपाल आदर्श आवासीय विद्यालयको सहकार्यमा सञ्चालित १५ दिने निःशुल्क एआई टुल्स क्र्यास कोर्स सफलतापूर्वक सम्पन्न भएको छ। उक्त प्रशिक्षण कार्यक्रमको समापन समारोह आइतबार नीति एकेडेमीको सभाहलमा सम्पन्न भएको हो।
समापन समारोहमा प्रशिक्षणमा सहभागी विद्यार्थीहरूलाई सम्मानस्वरूप खादा ओढाई प्रमाणपत्र प्रदान गरिएको थियो। कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक तथा दुवै संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल आदर्श आवासीय विद्यालयका प्राचार्य श्याम श्रेष्ठले वर्तमान डिजिटल युगमा कृत्रिम बुद्धिमत्ता (AI) सम्बन्धी ज्ञान र सीप विद्यार्थीका लागि अपरिहार्य बन्दै गएको उल्लेख गर्दै यस्ता सीपमूलक तथा व्यवहारिक कार्यक्रमले विद्यार्थीहरूको क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
त्यसैगरी नीति एकेडेमीका प्रमुख कार्यकारी अधिकृत (CEO) माधव पोखरेलले एआई प्रविधिको प्रभाव विश्वव्यापी रूपमा तीव्र गतिमा बढिरहेको उल्लेख गर्दै विद्यार्थीहरूले समयअनुकूल सीप हासिल गरी अध्ययन, अनुसन्धान तथा भविष्यको रोजगारीमा प्रतिस्पर्धी बन्न आवश्यक रहेको बताउनुभयो। उहाँले आगामी दिनमा पनि यस्ता प्रविधिमैत्री प्रशिक्षण कार्यक्रमलाई निरन्तर सञ्चालन गरिने जानकारी दिनुभयो।
प्रशिक्षणमा सहभागी विद्यार्थीहरूले १५ दिने एआई टुल्स क्र्यास कोर्सले अध्ययनलाई अझ प्रभावकारी बनाउने, विभिन्न एआई उपकरणहरूको व्यावहारिक प्रयोग सिक्ने तथा आफ्नो सिर्जनशीलता र डिजिटल सीप विकास गर्न महत्वपूर्ण सहयोग पुगेको प्रतिक्रिया दिएका थिए।
नीति एकेडेमी र नेपाल आदर्श आवासीय विद्यालयको सहकार्यमा सञ्चालन गरिएको उक्त प्रशिक्षण कार्यक्रमले विद्यार्थीहरूलाई आधुनिक प्रविधिसँग परिचित गराउँदै डिजिटल युगअनुकूल दक्ष जनशक्ति उत्पादनमा सकारात्मक योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ।






