पोखरा । पोखरा उद्योग वाणिज्य संघको ३६औँ महाधिवेशन तथा ७२औँ वार्षिक अधिवेशन नजिकिँदै गर्दा अध्यक्ष पदकी उम्मेदवार शोभा गौतम नेतृत्वको टोली उद्योगी व्यवसायीको घरदैलोमा व्यस्त छ ।
भदौ २० र २१ गते हुने महाधिवेशनका लागि गौतम नेतृत्वको टोलीले व्यवसायी भेटघाट तथा घरदैलो अभियानलाई तीव्रता दिएको हो । अभियानका क्रममा टोलीले विभिन्न क्षेत्रका उद्योगी व्यवसायीसँग भेटघाट गर्दै उनीहरूका समस्या, अपेक्षा र संघबाट गर्नुपर्ने कामबारे सुझाव संकलन गरिरहेको छ ।
गौतमले आफू नेतृत्वमा पुग्नका लागि मात्र नभई व्यवसायीका कुरा सुन्दै संघलाई अझ प्रभावकारी र व्यवसायीमैत्री बनाउने उद्देश्यले घरदैलोमा पुगेको बताइन् ।
‘व्यवसायीका वास्तविक आवश्यकता र अपेक्षा बुझेर अघि बढ्नु नै हाम्रो पहिलो प्राथमिकता हो, गौतमले भनिन्, ‘सबै व्यवसायीको सुझाव र अनुभवलाई समेटेर संघलाई अझ बलियो, पारदर्शी र परिणाममुखी संस्थाका रूपमा अघि बढाउने हाम्रो प्रतिबद्धता हो ।
उनले संघमा लामो समयदेखि सक्रिय रहँदा प्राप्त संस्थागत अनुभव र व्यवसायिक यात्राबाट सिकेका कुरालाई आगामी नेतृत्वमा उपयोग गर्ने बताइन् । व्यवसायीबीचको सहकार्यलाई बलियो बनाउँदै संघलाई सबै क्षेत्र र पुस्ताका व्यवसायीको साझा संस्थाका रूपमा विकास गर्ने उनको भनाइ छ ।
गौतमले विशेषगरी युवा तथा महिला उद्यमीलाई व्यवसायिक नेतृत्वमा थप जोड्ने, नयाँ पुस्तालाई उद्यमशीलतामा आकर्षित गर्ने र व्यवसाय विस्तारका लागि आवश्यक सहजीकरण गर्ने विषयलाई आफ्नो प्राथमिकतामा राखेको बताइन् ।
संघ सबै व्यवसायीको साझा घर हो । यहाँ हरेक व्यवसायीले आफ्नो आवाज सुन्ने र आफ्नो समस्या राख्ने वातावरण हुनुपर्छ, उनले भनिन्, अनुभव भएका अग्रजको ज्ञान र नयाँ पुस्ताको ऊर्जा एकै ठाउँमा ल्याएर पोखराको उद्योग व्यवसाय क्षेत्रलाई थप गतिशील बनाउन चाहन्छौँ ।
घरदैलो अभियानका क्रममा व्यवसायीहरूले बजार, लगानी, बैंकिङ, कर, पूर्वाधार तथा व्यवसाय सञ्चालनका क्रममा देखिएका विभिन्न विषयमा आफ्ना धारणा र सुझाव राखिरहेका छन् । गौतम नेतृत्वको टोलीले व्यवसायीका सुझावलाई आगामी कार्ययोजना निर्माणको आधार बनाउने जनाएको छ ।
महाधिवेशनमा गौतमले आफूलाई अनुभव, संस्थागत निरन्तरता र नयाँ सोचको संयोजनसहितको नेतृत्वका रूपमा प्रस्तुत गरेकी छन् । उनले व्यवसायीबीच सहकार्य र संवादलाई प्राथमिकता दिँदै संघको संस्थागत साख थप उकास्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।
महाधिवेशनको मिति नजिकिँदै जाँदा विभिन्न उम्मेदवार तथा समूहले व्यवसायी भेटघाटलाई तीव्र बनाएका छन् । गौतम नेतृत्वको टोलीले पनि घरदैलोमार्फत उद्योगी व्यवसायीसँग प्रत्यक्ष संवादलाई प्राथमिकता दिइरहेकाे छ ।






