नेपालगन्ज दसौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गतको पौडी प्रतियोगिता मङ्गलबारदेखि नेपालगन्जस्थित रङ्गशालाको पौडी पोखरीमा सुरु भएको छ ।
चार दिनसम्म सञ्चालन हुने प्रतियोगितामा सातै प्रदेश, विभागीय टोली र गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) सहित ११ टोलीका करिब २०० खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताका प्राविधिक निर्देशक विष्णु खड्काका अनुसार प्रतियोगितामा ४६ प्रतिस्पर्धा समावेश छन् । तीमध्ये ३४ व्यक्तिगत र १२ टिम स्पर्धा रहेका छन् ।
प्रतियोगिता सञ्चालन, खेल व्यवस्थापन र प्राविधिक पक्षलाई प्रभावकारी बनाउननेपाल पौडी सङ्घ र नेपालगन्ज स्विमिङ क्लबले समन्वय गरिरहेका छन् ।
प्राविधिक निर्देशक खड्काले यस पटक पौडी पोखरीमा अत्याधुनिक कोलोराडो टाइमिङ सिस्टमसहितको स्विमिङ टचप्याड जडान गरिएको जानकारी दिए। यसले खेलाडीले पूरा गरेको समयको मापनलाई थप सटीक र विश्वसनीय बनाउने उनले बताए।
नेपाल पौडी सङ्घका अध्यक्ष जगतमान श्रेष्ठले प्रतियोगिता सफल बनाउन सहयोग र समन्वय गर्ने प्रदेश खेलकुद सङ्घ, विभागीय टोली, एनआरएनए, खेलाडी, प्रशिक्षक, निर्णायक तथा सरोकारवाला निकायप्रति आभार व्यक्त गरे। प्रतियोगितामा पदक जित्ने खेलाडीले पाकिस्तानमा आयोजना हुने आगामी दक्षिण एसियाली खेलकुद सागमा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउने नेपाल पौडी सङ्घले जनाएको छ ।






