पोखरा । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) को ३०औँ वार्षिकोत्सव तथा सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत पोखरा महानगरपालिका–३२ स्थित राधाकृष्ण गुरुकुल विद्याश्रमका विद्यार्थीलाई न्यानो कपडा र खाद्यान्न सहयोग गरिएको छ । हिसान केन्द्रीय समिति र कास्की जिल्ला समितिले वार्षिकोत्सवको पूर्वसन्ध्यामा बिहीबार उक्त सामग्री वितरण गरेका हुन् ।
हिसानका केन्द्रीय अध्यक्ष दिवाकर जैशीले राधाकृष्ण मन्दिर शान्ति आश्रमका पीठाधीश मुकुन्दशरण उपाध्याय र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्रप्रसाद रेग्मीलाई संयुक्त रूपमा सामग्री हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा केन्द्रीय अध्यक्ष जैशीले वार्षिकोत्सवको अवसरमा एउटा शैक्षिक संस्थाले अर्को शैक्षिक संस्थालाई सहयोग गर्न पाउँदा खुसी लागेको बताए । उनले आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । यस पवित्र स्थलको विकास र प्रवद्र्धनमा पत्रकारहरूको भूमिका महत्वपूर्ण हुने धारणा पनि उनले राखे ।
हिसानका केन्द्रीय सचिव यम रोक्काले निजी शैक्षिक संस्थाहरूको साझा संगठन हिसानले च्यवन र गर्ग ऋषिको उद्गमस्थल तथा तपोभूमिमा रहेको गुरुकुल विद्याश्रमलाई सहयोग गर्न पाउनु गौरवको विषय भएको बताए । उनले उक्त स्थलको विकासमा हिसान सदैव साथमा रहने प्रतिबद्धता व्यक्त गरे ।
गुरुकुल विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्रप्रसाद रेग्मीले करिब ४१ रोपनी क्षेत्रफलमा फैलिएको परिसरमा गुरुकुल विद्याश्रम, राधाकृष्ण मन्दिर, राधाकृष्ण वृद्धाश्रम तथा राधाकृष्ण सांस्कृतिक समूह सञ्चालनमा रहेको जानकारी दिए ।
उनले गण्डकी प्रदेशकै उत्कृष्ट गुरुकुल विद्याश्रमका रूपमा विकास गर्ने लक्ष्य रहेको बताउँदै यसको शैक्षिक तथा भौतिक विकासका लागि सबैको साथ र सहयोग आवश्यक रहेको उल्लेख गरे । गुरुकुलमा हाल कक्षा ६ देखि १० सम्म २० जना छात्र अध्ययनरत रहेको पनि उनले जानकारी दिए ।






