पोखरा । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले रसुवाको भोटेकोसी बाढीमा बेपत्ता भएका ३ हजार ९ सय १५ जनालाई मृत घोषणा गर्न सरकारसमक्ष सिफारिस गरेको छ ।
गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा मंसिर १० गते बसेको समितिको ३८ औँ बैठकले यो निर्णय गरेको हो । सिफारिसमा परेकामध्ये ४८ जिल्लाबाट यकिन भएका ३ हजार २ सय ९२ जना नेपाली र १९ विदेशी नियोगबाट प्रमाणित भएका ६ सय २३ जना विदेशी नागरिक छन् ।
विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८३ को दफा २ को उपदफा ३ अनुसार विपद्मा परी बेपत्ता भएकालाई सरकारले मृत घोषणा गर्न सक्ने कानुनी व्यवस्था छ । यसअघि स्वदेशीको हकमा स्थानीय तहको सिफारिस र जिल्ला विपद् समितिको निर्णयका आधारमा तथा विदेशीको हकमा सम्बन्धित नियोगबाट प्राप्त सूचीमाथि दाबी विरोध गर्न प्राधिकरणले दुई चरणमा ७ दिने सूचना निकालेको थियो ।
यही बैठकले सबैका लागि पूर्वसूचना राष्ट्रिय मार्गचित्र २०८३ ८७ पनि स्वीकृत गरेको छ । विसं २०८७ सम्म देशका सबै समुदायमा बहुप्रकोप पूर्वसूचना प्रणाली विस्तार र स्तरोन्नति गर्ने लक्ष्य मार्गचित्रले लिएको छ ।
त्यस्तै, वन डढेलो जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय रणनीति २०८३ एवं कार्ययोजना २०८३ ८४ देखि २०९१ ९२ सम्म र वायु प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय कार्ययोजना २०८३ २०८७ पनि बैठकले पारित गरेको छ ।
बैठकले विभिन्न जिल्लाका जोखिमयुक्त बस्ती स्थानान्तरण गर्न समेत स्वीकृति दिएको छ । जसअनुसार डडेल्धुराको आलिताल गाउँपालिका–१ को भोका र माला गाउँका २४ घरधुरी तथा वडा नम्बर २ को बलौचा गाउँका २२ घरधुरीलाई सोही पालिकाको सुरक्षित स्थानमा सारिने भएको छ ।
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–७ स्थित मुडुंगे बस्तीका ४० घरधुरीलाई फुदवाङमा र गोरखाको चुमनुब्री गाउँपालिका–३ देवल गाउँका ३२ घरधुरीलाई फिलिम गाउँमा स्थानान्तरण गर्न स्वीकृति दिइएको समितिले जनाएको छ ।





